ताजा खबर
काठमाडौं । सामाजिक सञ्जाल टेलिग्राममार्फत ठगी, सम्पत्ति शुद्धीकरणलगायत गैरकानुनी गतिविधि बढ्दै गएपछि यसलाई बन्द गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारणसम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्रामलाई कारबाहीको दायरामा ल्याउन सूचना तथा सञ्चार मन्त्रालयलाई पत्र पठाएको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, हाल त्यस प्लेटफर्ममा सञ्चालित गतिविधि बारे विस्तृत जानकारी संकलन भइरहेको छ र अन्य सम्बन्धित निकायसँग परामर्श गरी अन्तिम निर्णय गरिनेछ । समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले टेलिग्राममार्फत ठगी र अन्य अपराध बढेको तथा त्यसको सम्पत्ति शुद्धीकरणसँग सम्बन्ध रहेको बृहत् रिपोर्ट पेश गरेका थिए ।
टेलिग्रामका संस्थापक पावेल डयु्रोभलाई २०८१ सालमा फ्रान्समा पक्राउ गरिएपछि यसको अवैध गतिविधि र नियमनबारे विश्वव्यापी बहस सुरु भएको थियो । नेपालमा पनि यसमार्फत ठूलो रकम चोरी र लागूऔषध कारोबारसमेत भएको आशंका छ ।
विशेषज्ञहरूले टेलिग्रामलाई ‘डार्क वेब’ को रूपमा वर्णन गरेका छन्, जहाँ गैरकानुनी लेनदेन र अपराधी गतिविधिहरू सजिलै सञ्चालन हुन्छन् र प्रयोगकर्ताको पहिचान लुकाउन सकिन्छ । प्रहरीले विगतमा पनि यसलाई नियमनमा ल्याउन प्रयास गरिसकेको छ तर व्यवस्थित कदम नचालिएपछि समस्या बढिरहेको छ ।
हाल राष्ट्रिय समन्वय समितिको संयोजनमा अर्थ, कानुन, गृह, परराष्ट्र मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्र बैंक, नेपाल प्रहरी र अन्य निकायका प्रतिनिधिहरूको समन्वयमा यसबारे थप निर्णय गरिने बताइएको छ ।
Super Admin
>