ताजा खबर
काठमाडौं । नेपालको अग्रणी औद्योगिक समूह पञ्चकन्या ग्रुपले रुपन्देहीको सियारी गाउँपालिकामा नेपालकै सबैभन्दा ठूलो यूपीभीसी प्रोफाइल उद्योग ‘पञ्चकन्या डिमेक्स’ स्थापना गरेको छ। यस उद्योगले पहिलोपटक नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरका रंगीन यूपीभीसी प्रोफाइल उत्पादन सुरु गरेको हो, जसमा उडन, ग्रे, वालनट र ब्ल्याक रंगहरू उपलब्ध छन्।
८० करोड लगानीमा २ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगबाट उत्पादित झ्याल–ढोका निर्माण सामग्री एक वर्षदेखि बजारमा बिक्री हुँदै आएको भए पनि सोमबार चार ब्रान्ड (डिमेक्स, निओ प्लास्ट, टोनिस र साल) का उत्पादनहरू औपचारिक रूपमा सार्वजनिक गरिएका हुन्। कम्पनीले आफ्ना उत्पादनहरूमा २० वर्षसम्मको वारेन्टी दिएको छ।
पञ्चकन्याका अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठका अनुसार, वार्षिक ६ हजार मेट्रिक टन उत्पादन क्षमतासहितको यो उद्योगले बजारको ५० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य राखेको छ। हाल चीन र भारतबाट आयात हुने १० हजार मेट्रिक टन यूपीभीसीको झन्डै ९० प्रतिशत हिस्सा प्रतिस्थापन गर्ने र भविष्यमा निर्यात समेत विस्तार गर्ने उद्देश्य रहेको श्रेष्ठले बताए।
उद्योगमा युरोपियन प्रविधि प्रयोग गरिएको छ। जर्मनीको प्रसिद्ध एसकेजेड संस्थाबाट गुणस्तर प्रमाणीकरण प्राप्त गरेको यो प्रोफाइल उत्पादनले टिकाउ, वातावरणमैत्री र ३० प्रतिशत कम ऊर्जा खपत गर्ने विशेषता बोकेको कम्पनीको दाबी छ। टीपीई ग्यासकेट प्रयोगले झ्याल–ढोकालाई अझ मजबुत बनाएको बताइएको छ।
उद्योगमा हाल ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ८ सयभन्दा बढी मिस्त्री तथा व्यवसायीहरूलाई तालिम दिने योजना कम्पनीले अघि सारेको छ। आगामी वर्षहरूमा अझ लगानी बढाई उत्पादन क्षमता र बजार विस्तार गर्न कम्पनी तयार रहेको छ।
Super Admin
>