ताजा खबर
काठमाडौँ — नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे व्यापक बहस भएको छ। सोमबार सुरु भएको नवौँ केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले भण्डारीको भूमिकाले पार्टीलाई असमञ्जसमा पारेको भन्दै तत्काल निर्णयमा पुग्न नेतृत्वलाई आग्रह गरेका छन्।
बैठकमा धारणा राख्ने ४९ मध्ये झण्डै ९५ प्रतिशत सदस्यले भण्डारीलाई दलगत राजनीतिमा फर्कनु उपयुक्त नहुने बताएका छन्। उनीहरूले गणतन्त्रको उच्चतम पदमा बसेको व्यक्तिले फेरि सक्रिय दलगत राजनीतिमा आउनु गणतान्त्रिक मर्यादा विपरीत भएको टिप्पणी गरेका छन्।
केन्द्रीय सदस्य नीरज आचार्यका अनुसार, धेरैले मिसन ०८४ का लागि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने अडान राखेका छन्। “राष्ट्रपतिको पद केवल औपचारिक हैन, गणतन्त्रको गौरवको प्रतीक हो,” आचार्यले भने, “त्यस पदमा पुगिसकेपछि दलगत राजनीतिमा फर्कनु अस्वाभाविक हुन्छ।”
बैठकमा अध्यक्ष ओलीले आइतबार पूर्वराष्ट्रपति भण्डारीसँग भएको भेट, समसामयिक राजनीति, र सरकारले हालसम्म गरेका कामबारे जानकारी गराएका थिए। उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दा महासचिव शंकर पोखरेलले पार्टी सदस्यता २८ प्रतिशतले वृद्धि भएको प्रतिवेदन पेस गरे।
मंगलबार पनि बैठक जारी रहनेछ। सदस्यहरूले धारणा राखेपछि भण्डारीको भूमिकाबारे उपयुक्त निर्णयसहित समसामयिक प्रस्ताव सार्वजनिक गर्ने तयारीमा एमाले सचिवालय रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
Super Admin
>