ताजा खबर
काठमाडौं । यस वर्ष अहिलेसम्म देशभर करिब ७२ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । सामान्यत: जेठ अन्तिमदेखि धान रोपाइँ सुरु हुने परम्परा भए पनि साउन ४ गतेसम्म सातै प्रदेशमा रोपाइँको दर अपेक्षितभन्दा कम देखिएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि विभागका तथ्याङ्क अनुसार यस वर्ष यही समयसम्म देशभर ७२.१४ प्रतिशत मात्रै धान रोपाइँ भएको छ भने गत वर्ष यस्तै अवधिमा ८४.६ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भइसकेको थियो ।
सबैभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा यस वर्ष ४६ प्रतिशत मात्र भूभागमा धान रोपिएको छ । यहाँको रोपाइँ मुख्य रूपमा सुख्खा र सिंचाइ अभावका कारण प्रभावित भएको छ । मधेश प्रदेशमा कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर धान खेतीयोग्य भूमि रहेको छ, जसमा हालसम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टरमा मात्र रोपाइँ पूरा भएको छ ।
मधेशपछि लुम्बिनी प्रदेशमा रोपाइँको अवस्था केही राम्रो देखिन्छ, जहाँ ३ लाख २ हजार ९ सय ३९ हेक्टरमध्ये २ लाख ६६ हजार ३ सय ६९ हेक्टरमा धान रोपिएको छ । कोशी प्रदेशमा ६१.७९ प्रतिशत, बाग्मतीमा ८७.१९ प्रतिशत, गण्डकीमा ७९.२८ प्रतिशत र कर्णालीमा ८७.९३ प्रतिशत भूभागमा रोपाइँ भएको तथ्याङ्क छ ।
कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ लाख ७० हजार ७९० हेक्टरमा रोपाइँ भएको छ । बाग्मती प्रदेशमा १ लाख २० हजार ५ सय ४५ हेक्टर मध्ये १ लाख ५ हजार १ सय ३ हेक्टरमा, गण्डकीमा ९४ हजार १ सय ८२ हेक्टर मध्ये ७४ हजार ६ सय ६४ हेक्टरमा र कर्णाली प्रदेशमा ४० हजार ८ सय ८४ हेक्टरमध्ये ३५ हजार ९ सय ४८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
यसरी यस वर्षको धान रोपाइँमा विभिन्न प्रदेशमा भौगोलिक, जलवायु र सिंचाइसम्बन्धी चुनौतीले असर गरेको देखिन्छ, जसले आगामी अन्न उत्पादनमा प्रभाव पार्न सक्ने चेतावनी समेत कृषि विज्ञहरूले दिएका छन् ।
Popular Tags:
Super Admin
>