ताजा खबर
इसराइली सेनाले गजामा मानवीय सहायता लिन पुगेका सर्वसाधारणमाथि गोली चलाउँदा तीन दिनमा कम्तीमा ९० जना मारिएका छन्। आइतबार मात्रै उत्तरी गजामा अन्धाधुन्ध गोली चलाउँदा ६७ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
मानवीय संकट चरममा पुगेको गजामा हजारौं नागरिक बाँच्नका लागि थोरै मात्रामा भित्रिने सहायता सामग्री पर्खिरहेका छन्। तर, सहायता वितरणका लागि तय गरिएका निश्चित स्थानमा भिड अत्यधिक हुँदा इसराइली सेनाले बलपूर्वक भिड तितरबितर गर्न गोली प्रहार गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
शनिबार पनि मानवीय सहायता लिन पुगेकाहरूमा गोली चल्दा ३६ जनाको मृत्यु भएको थियो। आइतबार अर्को स्थानमा भएको अर्को घटनामा थप ६ जनाको ज्यान गएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हाल गजामा अत्यधिक खाद्यान्न संकट छ। मानिसहरू शरीर कङ्कालजस्तै भइसकेका छन्, बालबालिकाको अवस्थाले झन् चिन्ता थपेको छ। हालसम्म भोककै कारण ७१ बालबालिकाको मृत्यु भइसकेको छ भने ६० हजार बालबालिका कुपोषणको शिकार भएका छन्।
मानवीय सहायता लिएर आउने ट्रक देख्ने बित्तिकै भोकले व्याकुल सर्वसाधारण ती ट्रक घेराउ गर्न पुग्ने गरेका छन्। यस्तो भिडलाई नियन्त्रण गर्न इसराइली सेनाले गोली चलाउने गरेको समाचारहरूमा उल्लेख छ।
यसैबीच, संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (UNRWA) ले गजामा पर्याप्त खाद्यान्न मौज्दात रहेको र तीन महिनासम्म पुग्ने सहयोग सामग्री तयार भए पनि इसराइलले अनुमति नदिएको बताएको छ। “हामीसँग पुग्ने सामग्री छ, तर गजामा प्रवेश गर्न सकिरहेका छैनौं,” एजेन्सीले जनाएको छ।
इसराइलले भने गाजाबाट प्राप्त मृत्युको विवरणलाई बढाइचढाइ गरिएको भन्दै त्यसको खण्डन गरेको छ। उसले सहायता आपूर्ति विषयमा अन्तर्राष्ट्रिय समुदायसँग समन्वय भइरहेको दाबी गरेको छ।
यसैबीच, युद्धविरामका लागि कतारमा इसराइल र हमासबीच अप्रत्यक्ष वार्ता जारी रहेको जनाइएको छ। हमासले भने गजामा भोकमरीका कारण भइरहेका नागरिक मृत्युका घटनाले वार्ता असफल गराउन सक्ने चेतावनी दिएको छ।
गाजाको अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको छ। सहायता सामग्री पुग्दैन, खाद्यान्नको अभावमा नागरिक अकालमै मर्न बाध्य छन्। यदि छिटो राहत व्यवस्था नभए मानवीय संकट झनै गहिरिँदै जाने निश्चितजस्तै देखिन्छ।
Popular Tags:
Super Admin
>