ताजा खबर
२६ असार,हुम्ला। हुम्लाको सिमकोट विमानस्थल अहिले डम्पिङ साइटजस्तै देखिन थालेको छ। बर्खासँगै बजार क्षेत्रको ढलसहितको फोहोर सिधै विमानस्थलको पार्किङ क्षेत्रमा पसेपछि अवस्था अत्यन्त दयनीय बनेको हो।
दैनिक रूपमा बजारबाट निस्कने प्लास्टिकजन्य फोहोर, खाद्य पदार्थका बाँकी अवशेष र ढलको पानी विमानस्थल क्षेत्रमा मिसिँदा दुर्गन्ध फैलिएको छ। यो अव्यवस्था स्थानीय यात्रु मात्र होइन, भारतबाट मानसरोवर कैलाश दर्शनका लागि आउने सयौँ तीर्थयात्रीको स्वागत फोहोरमै भएको छ।
सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहका अनुसार विमानस्थल सुरक्षाकर्मी र कर्मचारीले पटक–पटक सरसफाइ गरे पनि बजारबाट लगातार ढल बग्ने क्रम नरोकिएकाले समस्या ज्यूँकात्यूँ छ। “प्लास्टिक, बालुवा, खाद्यान्नलगायतको फोहोर विमानस्थल क्षेत्रमा थुप्रिन्छ। सरोकारवाला निकायलाई पटक–पटक आग्रह गर्दा पनि सुधार आएको छैन,” सिंहले भने।
नेपालगञ्ज हुँदै हुम्ला आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढ्दो छ। गत चैत ४ देखि असार २४ सम्मको अवधिमा मात्र ५२० पुरुष र ४५१ महिला तीर्थयात्री सिमकोट विमानस्थल हुँदै मानसरोवर दर्शन गर्न आएका थिए।
सिमकोट गाउँपालिकाले तीर्थयात्रीहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ पर्यटन शुल्क लिँदै आएको छ। तर तीर्थयात्रीहरू सिमकोट ओर्लनासाथ फोहोर र दुर्गन्धले स्वागत गरिनुपर्ने बाध्यता छ। विमानस्थलमा न इन्टरनेटको सुविधा छ, नत पर्याप्त खानेपानीको व्यवस्था। त्यसैमा ढल मिसिएको दुर्गन्धपूर्ण वातावरण थपिँदा विदेशी पर्यटक मात्र होइन, आन्तरिक यात्रुहरू पनि हैरान छन्।
स्थानीय तहको कमजोरी, ढल व्यवस्थापनको अभाव र जिम्मेवार निकायको लापरवाहीले सिमकोट विमानस्थलको छवि दिनानुदिन खराब हुँदै गएको छ। मानसरोवर यात्रा नेपालका लागि धार्मिक पर्यटनको महत्वपूर्ण अवसर हो। तर विमानस्थलमा देखिएको यस्तो दुर्व्यवस्थाले नेपालको पर्यटनमै गम्भीर धक्का पुर्याउने चिन्ता स्थानीय नागरिक र सरोकारवालाले व्यक्त गरेका छन्।
Popular Tags:
Super Admin
>