२०२६-०६-१३
भैरहवामा रास्वपाका सांसदहरूको भेला: सभापति भेटपछि रणनीति तय गर्ने तयारी>
Action

भैरहवामा रास्वपाका सांसदहरूको भेला: सभापति भेटपछि रणनीति तय गर्ने तयारी

वुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेता र अधिकांश सांसद मंगलबार साँझदेखि नै भैरहवामा भेला भएका छन्। पार्टी उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायत १९ जना सांसदमध्ये अधिकांश भैरहवा पुगिसकेका छन् भने बाँकी सांसद बुधबार बिहान आइपुग्ने कार्यक्रम छ।

भैरहवा यात्राको प्रमुख उद्देश्य भनेको सहकारी ठगी मुद्दामा जिल्ला कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेट गर्नु हो। पार्टी स्रोतका अनुसार सांसदहरूले बिहान कारागार पुगेर सभापतिलाई भेट्नेछन् भने दिउँसो एक बजे गौतमबुद्ध विमानस्थल नजिकैको होटेल रमादामा संसदीय दलको बैठक बस्नेछ।

पार्टी प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक दुई दिनसम्म चल्नेछ। बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण र सरकारको अलोकतान्त्रिक रवैया, भ्रष्टाचार विरुद्धको अडान लगायत विषयमा गहिरो समीक्षा हुनेछ। त्यसैगरी संसदमा प्रस्तुत भएका विधेयकबारे धारणा बनाउने र आगामी रणनीति तय गर्ने तयारी रहेको उनले बताए।

बैठकपछि सांसदहरू हस्ताक्षर अभियानमा समेत सहभागी हुने छन्। रास्वपाले हाल रुपन्देही क्षेत्र नं. ३ का सबै ३६ वडामा अभियान सञ्चालन गरिरहेको छ र हालसम्म करिब २० हजार हस्ताक्षर संकलन भइसकेको क्षेत्रीय सभापति मधु अर्यालले जनाएका छन्।

यद्यपि संसदीय बैठकमा आसन्न उपनिर्वाचनको उम्मेदवारबारे निर्णय भने हुने छैन। पार्टीले इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरिसकेको छ र उम्मेदवार चयन प्रक्रिया त्यसपछि मात्र अघि बढ्ने प्रमुख सचेतक परियारले स्पष्ट पारे।

रुपन्देही ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ, जहाँ रास्वपाले पछिल्लो आम निर्वाचनमा समानुपातिकतर्फ तेस्रो स्थान हासिल गरेको थियो। यो पटक भने पार्टी पुरै तयारीसहित प्रतिस्पर्धामा उत्रिन चाहन्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart