ताजा खबर
नेपाल वायुसेवा निगम (नेपाल एयरलायन्स) ले यात्रु सुरक्षासम्बन्धी नियमहरूमा पटक–पटक लापरबाही गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान अनुमति (AOC) खारेज गर्ने चेतावनी दिएको छ।
एक वर्षअघि नै कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यात्रु सुरक्षामा गम्भीर लापरबाही गरेको कारण एकाउन्टेबल म्यानेजर पदबाट निलम्बन गरिएको थियो। तर, त्यसयता निगमले नयाँ उत्तरदायी अधिकारी तोक्नुपर्ने नियमविपरीत अटेरी गर्दै आएको प्राधिकरणको आरोप छ।
प्राधिकरणले पटक–पटक पत्राचार गरेर नयाँ नाम सिफारिस गर्न भने पनि निगमले चित्तबुझ्दो जवाफ नदिएको जनाएको छ। हाल अन्तरिम रूपमा वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनलाई उत्तरदायी अधिकारी तोकिएको भए पनि औपचारिक नियुक्ति अझै भएको छैन।
युवराज अधिकारीमाथि वाइडबडी जहाजलाई अनुमतिविना नै इटाली मर्मतका लागि पठाएको, क्यानसँग अनुमति नलिई चाइना साउदर्नसँग सम्झौता गर्न खोजेको लगायत सुरक्षा उल्लंघनका घटनामा संलग्न भएको आरोप लाग्दै आएको छ।
यदि छिट्टै नयाँ एकाउन्टेबल म्यानेजर तोकिएन भने नेपाल वायुसेवा निगमको उडान अनुमति खारेज हुने जोखिम बढेको प्राधिकरणका अधिकारीहरूको चेतावनी छ।
Super Admin
>