ताजा खबर
६ असोज, काठमाडौं । दशैं पर्व सुरु भइसके पनि वर्षा नरोकिँदा देशभर सडक यातायात प्रभावित भएको छ। लगातारको वर्षासँगै विभिन्न स्थानमा खसेका पहिरो र बाढीका कारण यात्रुहरू गन्तव्य पुग्न मुस्किलमा परेका छन्।
आज बिहान ९ बजेसम्मको तथ्यांकअनुसार देशभरका ५ राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् भने ७ सडक एकतर्फी रुपमा मात्र सञ्चालनमा आएका छन्।
प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा सडक पूर्ण अवरुद्ध भएको छ। त्यस्तै, बाढीका कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन सीमा जोड्ने पुल आवागमनका लागि बन्द गरिएको छ।
पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवाको गोसाइकुण्ड–२ बालुवाखानीमा पहिरो खस्दा सडक बन्द छ भने, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी सडक पनि पूर्णरुपमा अवरुद्ध भएको छ।
यसैबीच, मुग्लिन–नारायणगढ सडक लामो प्रयासपछि आंशिक रुपमा मात्र खुलेको छ। दिनको समयमा सवारी एकतर्फी रुपमा गुडाइए पनि राति उच्च जोखिम भएकाले सडक बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
अवरुद्ध भएका सडकहरू सुरक्षाकर्मी र प्राविधिक टोलीले खुलाउने प्रयास गरिरहेको भए पनि निरन्तरको वर्षाले काममा कठिनाइ भएको छ।
Super Admin
>