ताजा खबर
हेटौंडा — बागमती प्रदेशका तीन नवनियुक्त मन्त्रीको आज (श्रावण १५) हुने भनिएको शपथग्रहण कार्यक्रम आकस्मिक रूपमा स्थगित गरिएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्मा आकस्मिक स्वास्थ्य समस्याका कारण बिहानै काठमाडौं गएकाले शपथग्रहण अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, शपथग्रहण समारोह दिउँसो १ बजेका लागि तय गरिएको भए पनि प्रमुख शर्माको उपचारका लागि काठमाडौँ प्रस्थानले कार्यक्रम रोकिएको हो।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका थिए। नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमको कारण शपथग्रहण बुधबार नगरी आजका लागि सारिएको थियो।
तर यसैबीच, कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री लामालाई पराजित गरेसँगै प्रदेश राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। बानियाँले बहुमत सदस्यको समर्थन रहेको भन्दै लामालाई राजीनामा दिन दवाव दिइरहेका छन्। तर लामा भने आफू संविधानको धारा १६८(२) बमोजिम बनेको मुख्यमन्त्री भएको भन्दै पद नत्याग्ने अडानमा छन्।
संविधानको यो व्यवस्थाअनुसार, प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सांसदलाई मुख्यमन्त्री नियुक्त गर्न सकिनेछ। यही आधारमा लामा मुख्यमन्त्री बनेका हुन्। अहिलेको घटनाक्रमले बागमती प्रदेशको सत्ता समीकरण थप जटिल बन्दै गएको देखिन्छ।
Super Admin
>