ताजा खबर
काठमाडौं — साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको नेपाली यू-२० महिला फुटबल टोली फेरि एक नयाँ चुनौतीको यात्रामा निस्कन लागेको छ। टोलीले अब एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न साउन २१ देखि २५ गतेसम्म भुटानमा प्रतिस्पर्धा गर्दैछ। बुधबार टोलीको बिदाइ कार्यक्रम आयोजना गरिएको थियो।
नेपाल यस पटक समूह ‘ए’ मा परेको छ, जहाँ आयोजक भुटान, साउदी अरेबिया र एशिया तथा विश्व विजेता उत्तर कोरियासँग भिड्नुपर्नेछ। मंगोलिया नाम फिर्ता लिएपछि समूह चार टिममा सीमित भएको छ।
यो प्रतियोगिता नेपालको लागि केवल एक प्रतिस्पर्धा मात्र होइन, प्रतिष्ठाको प्रश्न पनि हो। किनभने, समूह विजेता हुने टिम मात्र सिधै यू-२० एसियन कपका लागि छनोट हुनेछ। नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै एशियन कपमा स्थान बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ।
‘डार्क हर्स’को आत्मविश्वास
नेपाली टिमका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपाललाई डार्क हर्सको रूपमा प्रस्तुत गरेका छन्। “हामी अँध्यारोमा कुद्ने टिम हौं। उनीहरू विश्व विजेता भए पनि हामी ११, उनीहरू पनि ११। डराएर होइन, जुझारु शैलीमा खेल्नेछौं,” गुरुङले भने।
चिन्ता डिफेन्स र मिडफिल्डमा
साफ प्रतियोगितामा बंगलादेशसँगको हारबाट सिकेर अगाडि बढ्ने टिमको योजना छ। प्रशिक्षक गुरुङ र कप्तान बिर्सना चौधरी दुबैको भनाइ अनुसार नेपालको कमजोरी डिफेन्स र मिडफिल्डमा देखिएको छ। त्यसमा सुधार ल्याउने रणनीतिसँगै टिम मैदान उत्रने तयारीमा छ।
खेल तालिका र रणनीति
अगष्ट ६ – नेपाल बनाम भुटान
अगष्ट ८ – नेपाल बनाम साउदी अरेबिया
अगष्ट १० – नेपाल बनाम उत्तर कोरिया
नेपालले भुटानलाई पछिल्लो दुई खेलमा सहजै हराएको हुँदा पहिलो खेलमा तीन अंक उठाउने योजना बनाएको छ। साउदी अरेबियालाई पनि तुलनात्मक रूपमा कमजोर प्रतिस्पर्धी मानिएको छ। मुख्य चुनौती उत्तर कोरिया हो, जसले सन् २०२४ मा एएफसी र फिफा यू-२० महिला विश्वकप दुवै जितेको थियो।
गोलकिपिङदेखि फिनिसिङसम्म सन्तुलनको खोजी
साफ प्रतियोगितामा गोलकिपर र डिफेन्सबीचको तालमेल कमजोर देखिएको थियो। प्रशिक्षक गुरुङले त्यसमा विशेष ध्यान दिइएको बताएका छन्। मिडफिल्डबाट काउन्टर अट्याकको रणनीति लिँदै, उत्तर कोरियाजस्ता बलिया टिमसँग ट्याकल गर्ने योजना बनाइएको छ।
साहसी कप्तानको सन्देश
कप्तान बिर्सना चौधरी उत्तर कोरियालाई नदेखेको भए पनि डर मान्दिनन्। "खेल मैदानमै देखाउने हो, त्यही तयारी छ," उनले भनिन्।
एशियन कपको यात्रा
छनोटमा ८ समूह विजेता र ३ उत्कृष्ट उपविजेता गरी ११ टिमले थाइल्याण्डमा हुने यू-२० महिला एसियन कपमा स्थान बनाउनेछन्। आयोजकको हैसियतले थाइल्याण्ड स्वतः छनोट भइसकेको छ।
Super Admin
>