ताजा खबर
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमै नेपालले २४ अर्ब १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति पाएको छ। उद्योग विभागका अनुसार, यो अवधिमा १ सय २७ नयाँ उद्योग दर्ता भएका छन्।
दर्ता भएका उद्योगमध्ये ८१ वटा अटोमेटिक रुटबाट र ४६ वटा अप्रुभल रुटमार्फत दर्ता भएका हुन्। अटोमेटिक रुटमा साना उद्योगहरू बढी देखिएका छन्, जसमा करिब ७३ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। तर अप्रुभल रुटमार्फत दर्ता भएका ४६ उद्योगले भने २३ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त गरेका छन्।
उद्योग विभागका तथ्यांकअनुसार, हालसम्म नेपालमा दर्ता भएका कुल उद्योगको संख्या ७ हजार ३ सय ६६ पुगेको छ। कुल एफडीआई प्रतिबद्धता ६ खर्ब ७५ अर्ब ५२ करोड रुपैयाँ नाघेको छ। केवल साउनमा दर्ता भएका उद्योगहरूले मात्र ८ हजार २ सय ६८ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छन्।
उद्योग दर्ताको संरचनातर्फ हेर्दा, साउनमा १२५ साना उद्योग र २ ठूला उद्योग मात्र दर्ता भएका छन्। मझौला उद्योग भने दर्ता भएको छैन। यसपटकको लगानी संरचनामा कृषिक्षेत्र सर्वाधिक आकर्षक बनेको छ। कृषिमा मात्र ३ उद्योगमा २० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। यसैअन्तर्गत चीनबाट आएको २० अर्ब रुपैयाँ बराबरको भैँसी मासु प्रशोधन उद्योगका कारण एफडीआई उच्च देखिएको हो।
यदि सो उद्योग कार्यान्वयनमा आयो भने, नेपालबाट ठूलो मात्रामा भैँसीको मासु निर्यात गर्ने सम्भावना देखिएको छ। यसले कृषिजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउने अवसर दिन सक्ने विज्ञहरूको आकलन छ।
कृषि बाहेक पर्यटन, सूचना प्रविधि, सेवा, उत्पादन र ऊर्जा क्षेत्रमा पनि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। संख्यात्मक हिसाबले हेर्दा सूचना प्रविधिमा ७१ उद्योग र पर्यटन क्षेत्रमा ४१ उद्योग दर्ता भएका छन्।
Super Admin
>