ताजा खबर
बैतडीसहित सुदूरपश्चिम प्रदेशभर आज गौरापर्वको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली श्रद्धा र भव्यतासाथ मनाइँदैछ। हिजो साँझ गौराघरमा भित्र्याइएको गौरालाई आज बिहानैदेखि व्रतालु महिलाले गौरामन्दिरको आँगन, गौराखलामा लगेर विशेष पूजा गर्ने परम्परा रहिआएको छ।
पण्डित जयानन्द भट्टका अनुसार महिलाले दिनभर बिरुडा (पाँच थरिका अन्न) चढाएर फाग गाउँदै गौरादेवीको आराधना गर्ने चलन छ। हिजो चढाइएको दुबधागो आजै महिलाले धारण गर्छन्। पुरुषले जनै लगाउने संस्कृतिसँग तुलना गर्दै यहाँ महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने प्रथा कायम छ।
गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा ल्याइएपछि सामूहिक अठ्यावाली गाउँदै पूजा गरिन्छ। गौराको उत्पत्ति र महेश्वरसँगको विवाहका प्रसङ्ग महिलाले गीतमार्फत प्रस्तुत गर्ने परम्परा छ। पूजा सम्पन्न भएपछि व्रतालुले गौरादेवीलाई अर्पण गरिएको बिरुडा प्रसाद परिवारका सदस्यलाई टाउकोमा पुजेर दीर्घायु, चिरायु र समृद्धिको कामना गर्ने गर्दछन्।
यस दिन पुरुषहरूले ठाडोखेल, ढुस्को धमारी जस्ता पुराना सांस्कृतिक खेलहरू खेल्दै उत्सव मनाउने गर्छन्। संस्कृतिविद् आचार्य विष्णुदत्त भट्टका अनुसार गौरापर्व महिलाको अटल सौभाग्य, पारिवारिक समृद्धि र सन्तानको मंगलकामनासँग जोडिएको छ।
दसैँभन्दा बढी महत्वका साथ मनाइने गौरापर्वमा घरपरिवारसँगै परदेशिएका सदस्य पनि फर्किने चलन छ। विवाहित चेलीहरू माइत आउने परम्परा अझै जीवित छ।
यसैबीच, गौरापर्वलाई मध्यनजर गर्दै आइतबार (भदौ १५) संघीय सरकारले र सोमबार (भदौ १६) प्रदेश सरकारले बिदा घोषणा गरेका छन्। यसरी सुदूरपश्चिममा दुई दिनसम्म सार्वजनिक बिदा कायम भएको छ।
Super Admin
>