ताजा खबर
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिलाई नेपालको समृद्धिको मूल आधार बनाउँदै युवाहरूलाई यही क्षेत्रमा दक्ष, सिर्जनशील र आत्मनिर्भर बन्न आह्वान गरेका छन्।
कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिबिसन–२०२५’ को उद्घाटन गर्दै मन्त्री गुरुङले भने, “अबका युवाले सूचना प्रविधिमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनु पर्छ। देशलाई दक्ष जनशक्तिको खाँचो छ, सूचना प्रविधिमा रोजगारीको अपार सम्भावना छ।”
उनका अनुसार सूचना प्रविधिको क्षेत्रमा संसारभर तीव्र प्रगति भइरहेको छ, तर नेपालमा जनशक्तिको अभाव, प्रभावकारी नीति र पूर्वाधारको कमी जस्ता चुनौती अझै समाधान हुन सकेका छैनन्। यद्यपि उनले यसै वर्षदेखि सरकारले फोरजी सेवा विस्तार, फाइभजी लन्च र प्रविधि संरचना निर्माणमा प्राथमिकता दिने बताएका छन्। "अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो," उनले जोड दिए।
कार्यक्रममा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरेले पनि युवाले सूचना प्रविधिको माध्यमबाट देशमै रोजगार सिर्जना गरिरहेको उदाहरण प्रस्तुत गर्दै, मेहनती र ज्ञान भएका युवालाई रोजगारीको अभाव नरहेको बताइन्। “क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहन गरिरहेको छ,” उनले भनिन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सचिव डा. रविन्द्रप्रसाद ढकालले भने, प्रविधिमा दक्ष युवा विदेश पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गरे। “विदेश जाने लहर बढ्दो छ, यस्तो अवस्थामा देश कसरी समृद्ध बनाउने?” भन्ने प्रश्न उनले उठाए।
उनका अनुसार सूचना प्रविधिको विकासले स्वदेशमै सिर्जनात्मक काम गर्न सक्ने आधार तयार पारेको छ, तर त्यसका लागि राज्यले युवालाई यथोचित वातावरण दिन सक्नुपर्ने आवश्यकता औँल्याए।
दुई दिनसम्म चल्ने प्रदर्शनीमा विद्यार्थी तथा युवाहरूले तयार पारेका सूचना प्रविधिसम्बन्धी नवीन प्रोजेक्ट र उद्यमशील सोचका नमुना प्रस्तुत गरिएका छन्। कार्यक्रमले नेपालमा सूचना प्रविधिको सम्भावना, चुनौती र भविष्यका दिशाबारे गहिरो सन्देश दिएको छ।
Super Admin
>