ताजा खबर
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो राष्ट्रिय कोदो दिवसको अवसरमा शुभकामना दिँदै कोदो उत्पादन वृद्धि र कोदाजन्य परिकारको उपभोग बढाउन आग्रह गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोदो केवल परम्परागत खाद्यान्न मात्र नभई उच्च पोषणयुक्त बाली भएको उल्लेख गरेका छन्।
‘कोदोमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रणमा मद्दत गर्छ। यसमा प्रशस्त मात्रामा हुने फाइबरले हृदय स्वास्थ्य बलियो बनाउन सहयोग पुर्याउँछ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्।
उनका अनुसार सिँचाइ बिना पनि उत्पादन गर्न सकिने यस्तो गुणकारी बालीलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो।
‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ ! कोदो दिवसको शुभकामना !’ भन्दै प्रधानमन्त्री ओलीले सबैलाई स्वदेशी बालीको संरक्षण र प्रोत्साहनमा सहभागी हुन आह्वान गरेका छन्।
Super Admin
>