ताजा खबर
तुर्कमेनिस्तान — प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेका छन्। तुर्कमेनिस्तानको आवाजा सहरमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज भएको द्विपक्षीय भेटमा प्रधानमन्त्री ओलीले आगामी वर्ष नेपाल भ्रमणको प्रस्ताव राखेका हुन्।
भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको आपसी चासो, सहयोग र सहकार्यलाई अझ मजबुत बनाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए। उनले छोटो समयमै तुर्कमेनिस्तानले गरेको उल्लेखनीय विकासको प्रशंसा गर्दै नेपाल सन् २०२6 मा विकासशील मुलुकको सूचीमा स्तरोन्नत हुने जानकारी पनि राष्ट्रपतिको ध्यानाकर्षणमा ल्याएका थिए।
प्रधानमन्त्री ओलीले सम्मेलनको भव्य आयोजना र आतिथ्यका लागि राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद दिँदै, नेपाल र तुर्कमेनिस्तानबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्ने अवसरको रूपमा भ्रमणको प्रस्ताव अघि सारेका हुन्।
आजै प्रधानमन्त्री ओलीको अन्य राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग समेत उच्चस्तरीय भेटघाटको कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा प्रत्येक १० वर्षमा एकपटक हुने यो सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका हुन्।
भूपरिवेष्टित राष्ट्रहरूको साझा समस्या, विकासका चुनौती र अन्तर्राष्ट्रिय सहयोग विस्तारका विषयमा केन्द्रित हुने यो सम्मेलन नेपालजस्ता पर्वतीय र पहुँचसम्बन्धी कठिनाइ भएका मुलुकहरूको आवाज बुलन्द गराउने महत्वपूर्ण मञ्च हो।
Super Admin
>