ताजा खबर
काठमाडौँ — नेपालका हिमालहरू तीव्र गतिमा पग्लँदै गएका छन्, र यो केवल नेपालको मात्र नभई सम्पूर्ण विश्वको लागि गम्भीर चिन्ताको विषय बनेको एक संसदीय अध्ययन प्रतिवेदनले देखाएको छ। राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास उपसमितिबाट हालै सार्वजनिक गरिएको ‘जलवायु परिवर्तन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ मा नेपालका हिमाली क्षेत्रमा तापक्रम विश्व औसतभन्दा छिटो बढिरहेको उल्लेख छ।
प्रतिवेदन अनुसार, विश्व समुदायले पृथ्वीको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य लिए पनि नेपालका हिमाली क्षेत्रमा सन् २०५० भित्रै तापक्रम औसतमा १.८ डिग्री सेल्सियसभन्दा बढीले बढ्ने प्रक्षेपण गरिएको छ।
उच्च तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रका दुई तिहाइ हिम भण्डार पग्लिने सम्भावना रहेको र यसले नदीनाला, कृषि प्रणाली, जलविद्युत् र जैविक विविधतामा गम्भीर असर पार्ने चेतावनी प्रतिवेदनले दिएको छ।
विगत ३०–४० वर्षको तथ्याङ्कले हरेक दशकमा हिमाली क्षेत्रको तापक्रम करिब ०.०५ डिग्री सेल्सियसका दरले बढिरहेको देखाएको छ। यो वृद्धिदरले सन् १९८० देखि २०१० सम्ममा करिब २५ प्रतिशत हिमनदी क्षेत्रफल गुमिसकेको प्रतिवेदनमा उल्लेख छ।
नेपालको जलस्रोत, वातावरणीय सन्तुलन र सम्पूर्ण दक्षिण एसियाली जलचक्रमा समेत यसको प्रभाव पर्ने सम्भावना रहेकोले, विशेषज्ञहरूले यो विषयलाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राखी विश्व समुदायसँग सहकार्य गर्न आवश्यक भएको औँल्याएका छन्।
नेपाल जस्ता पर्वतीय मुलुकका लागि जलवायु न्याय, अनुकूलन रणनीति र अन्तर्राष्ट्रिय वित्तीय सहयोग अपरिहार्य रहेको सन्देश समेत प्रतिवेदनमार्फत दिइएको छ।
Super Admin