ताजा खबर
भोजपुर — अविरल वर्षासँगै आएको हावाहुरीले भोजपुरका किसानको मुख्य खाद्यबाली मकैमा व्यापक क्षति पुर्याएपछि किसान गहिरो चिन्तामा परेका छन्।
भर्खर दाना भर्ने क्रममा रहेको मकैबाली हावाहुरीले लडाएपछि किसानहरू उत्पादन नहुने डरमा छन्। भोजपुर नगरपालिका–५ की किसान कमला थापाले मकै खेतमै ढलेपछि अब पशुचौपायालाई खुवाउनुपर्नेसम्मको अवस्था आएको बताइन्। “रोग किरा र बाँदरजस्ता जनावरबाट जोगाएर हुर्काएको मकै पाक्न नपाउँदै हावाले सखाप बनायो,” उनले दुःखेसो पोखिन्।
थापा मात्र होइन, जिल्लाका दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यामाशिला लगायत विभिन्न वडाका किसानले पनि हावाहुरी र वर्षाले मकैबाली नष्ट गरेको बताएका छन्।
मकै भोजपुरमा धानपछि दोस्रो ठूलो खाद्य बाली हो। यहाँको नौवटै स्थानीय तहमा मकैखेती गरिन्छ, तर पछिल्ला वर्षहरूमा बारम्बारको प्राकृतिक प्रकोप, फौजी किरा, बाँदर र जङ्गली जनावरको आक्रमणले मकै उत्पादनमा गिरावट आएको किसानहरूको गुनासो छ।
स्थानीय सरकार र कृषि शाखाले क्षतिको मूल्यांकन गरिरहेका छन् वा छैनन् भन्नेबारे हालसम्म आधिकारिक प्रतिक्रिया आएको छैन। यद्यपि किसानहरू राहत र वैकल्पिक सहयोगको पर्खाइमा छन्।
जलवायु परिवर्तन, कीरा रोग र प्रकोपको बढ्दो प्रभावले कृषकहरूको जीविकोपार्जनमा गम्भीर असर पारिरहेको स्पष्ट देखिन थालेको छ। किसानहरू भन्छन्, “कृषिमा लगानी जोखिम बन्दै गइरहेको छ, राज्यले संरक्षण र राहत नदिए खेती गर्नै मुस्किल पर्छ।
Super Admin
>