ताजा खबर
पोखरा । नेपाली महिला भलिबल इतिहासमै पहिलो फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लिग (EWVL) को दोस्रो संस्करण शुक्रबारदेखि पर्यटकीय सहर पोखरामा सुरु हुँदैछ। गत वर्ष काठमाडौंमा पहिलो संस्करण आयोजना गरिएको यो लिग यसपटक भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुनेछ।
लिगमा सहभागी ६ फ्रेन्चाइज टोली पोखरा भइसकेका छन्। यसपटकको आकर्षण भनेकै विश्वका १० देशबाट आएका १८ विदेशी खेलाडी हुन्। थाइल्याण्डबाट सबैभन्दा धेरै ५ खेलाडी आएका छन् भने नेदरल्याण्ड्स, रुस, ब्राजिल, अमेरिका, कीर्गिस्तान, क्रोएसिया, ग्रीस, रोमानिया र बुल्गेरियाबाट पनि खेलाडी सहभागी छन्।
साविक विजेता कर्णाली यशविसले ब्राजिल र ग्रीसका खेलाडी अनुबन्ध गरेर उपाधि जोगाउने तयारी गरेको छ भने उपविजेता ललितपुर क्विन्सले थाइल्याण्डकै तीन खेलाडीमा भरोसा राखेको छ। यसैगरी मधेश युनाइटेडले नेदरल्याण्ड्सका तीन खेलाडी अनुबन्ध गर्दै यसपटक नयाँ पाना पल्टाउने अपेक्षा राखेको छ। तेस्रो स्थानमा रहेकै काठमाडौं स्पाइकर्सले थाइल्याण्ड र बुल्गेरियाबाट खेलाडी ल्याएर टिमलाई अझ बलियो बनाएको छ।
यसपटक नयाँ टोलीका रूपमा लुम्बिनी लाभाज र पोखरा निन्जाज लिगमा सहभागी भएका छन्। लुम्बिनीले रुस र कीर्गिस्तानका खेलाडी ल्याएको छ भने घरेलु टोली पोखरा निन्जाजले अमेरिका, क्रोएसिया र रोमानियाका खेलाडी अनुबन्ध गर्दै स्थानीय दर्शकको समर्थनमा चम्किने लक्ष्य राखेको छ।
यस संस्करणमा पहिलोपटक ‘प्लेअर अक्सन’ पनि गरिएको छ, जसले लिगलाई थप रोचक बनाएको छ। विदेशी खेलाडीहरू नेपालमा पहिलोपटक खेल्न पाउँदा उत्साहित देखिएका छन्।
इन्फिनिटी ड्रिम्सले आयोजना गर्ने यो लिगले पोखरालाई खेल पर्यटनको नयाँ केन्द्र बनाउने अपेक्षा गरिएको छ। स्थानीय खेलाडीको अनुभव, विदेशी खेलाडीको कौशल र फ्रेन्चाइज प्रणालीको उत्साह मिसिँदा भलिबलप्रेमी दर्शकका लागि यो संस्करण रोमाञ्चक हुने निश्चित देखिन्छ।
Super Admin
>