ताजा खबर
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच आपसी विवादलाई सार्वजनिक रूपमा नथप्ने सहमति भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा वरिष्ठ नेताहरूको उपस्थितिमा भएको लामो छलफलपछि दुबै नेताले एकअर्काविरुद्ध सार्वजनिक आक्षेप नगर्ने निर्णय लिएका हुन्।
वरिष्ठ नेता वेदुराम भुसालका अनुसार, छलफलमा पार्टी नेताहरूले विधान र आचारसंहिताभित्र रहेर अभिव्यक्ति दिनुपर्ने सहमति बनेको हो। यसअघि पूर्वप्रधानमन्त्री नेपाल र खनालबीच आरोप–प्रत्यारोपको क्रम बढ्दै गएको थियो। खनालले ‘विद्रोह पुष्टि हुन नसकेको’ भन्दै चार वर्ष पुरानो प्रसंग उठाएपछि नेपालले उनलाई एमालेमा फर्कन सुझाव दिएका थिए, जसको जवाफमा खनालले पनि चर्को प्रतिक्रिया दिएका थिए।
विवाद तीव्र भएपछि नेताहरू भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे र घनश्याम भूसालले दुवै नेताबीच वार्ता गराएका हुन्। सोमबार बिहान साढे दुई घण्टा चलेको छलफलमा अध्यक्ष नेपालले असहमति र गुनासो सार्वजनिक अन्तर्वार्तामार्फत नभई पार्टी बैठकमै राख्न आग्रह गरेका थिए। यसमा खनाल पनि सहमत भएका छन्।
यद्यपि, पतञ्जली जग्गा हिनामिनासम्बन्धी मुद्दाका कारण अध्यक्ष पद छोड्नुपर्ने खनालको पुरानो प्रस्तावबारे भने अझै सहमति भइसकेको छैन। यस विषयमा ३० साउनमा बस्ने सचिवालय बैठकमा औपचारिक रूपमा छलफल हुने बताइएको छ।
पार्टी स्रोतका अनुसार, अबदेखि नेताहरूले सार्वजनिक आरोप र प्रतिक्रिया रोक्ने, र सबै विषय आन्तरिक बैठकमै छलफल गर्ने भद्र सहमति गरेका छन्।
Super Admin
>