ताजा खबर
२४ भदौको जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनसहितका संरचना जलाइएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अहिलेसम्म बस्न सकेको छैन। प्रदर्शनकारीले प्रदेश सभा भवन, प्रशासनिक भवन, विषयगत समिति, संसदीय दलका कार्यालय र सवारी साधनमा आगजनी गरी ठूलो क्षति पुर्याएका थिए। त्यसपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले तिहारपछि बैठक बोलाउन निर्देशन दिए पनि आगजनीमा ध्वस्त भएका संरचनाको पुनर्निर्माणमा समय लाग्ने भएकाले तत्काल सम्भव छैन। प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार फर्निचरदेखि प्राविधिक उपकरण सबै जलेका छन्। झ्याल–ढोका जडान र प्राथमिक मर्मतका काम सुरु भए पनि पूर्ण पुनर्निर्माणमा कम्तीमा दुई महिना लाग्ने उनले बताए।
सचिवालयले क्यामेरा, कम्प्युटर, माइकलगायत उपकरण खरिदका लागि ४३ लाख रुपैयाँ आवश्यक भए पनि बजेट नहुँदा युएनडीपी, युनिसेफ, युएनएफपीएलगायत दातृ निकायसँग सहयोग मागिएको छ।
भवन प्रयोग गर्न नसकिने भएकाले वैकल्पिक स्थानको खोजी भइरहेको सचिवालयले जनाएको छ। जरुरी परे टेन्ट गाडेर वा सिटी हल वा निजी भवन भाडामा लिएर बैठक सञ्चालन गर्ने विकल्प विचाराधीन रहेको जनाएको छ।
Super Admin
>