ताजा खबर
विश्व प्रसिद्ध उद्यमी इलन मस्कको न्युरोटेक्नोलोजी कम्पनी न्युरालिंकले एउटा अचम्मको परियोजना सार्वजनिक गरेको छ, जसले विज्ञानलाई नै चुनौती दिनेछ। कम्पनीले जन्मजात दृष्टिविहीन मानिसहरूलाई ‘देख्न सक्ने’ बनाउने महत्त्वाकांक्षी प्रविधिमा काम गरिरहेको घोषणा गरेको छ।
उक्त उपकरणको नाम ‘ब्लाइन्डसाइट’ राखिएको छ। यो उपकरण अमेरिकी FDA (Food and Drug Administration) बाट ‘ब्रेकथ्रु डिभाइस’ को मान्यता पाइसकेको छ, जसले नवप्रवर्तनात्मक उपकरणहरूको छिटो स्वीकृतिको मार्ग खोल्छ।
कसरी काम गर्छ ब्लाइन्डसाइट?
ब्लाइन्डसाइटले आँखा र अप्टिक स्नायु (optic nerve) नै काम नगर्ने अवस्थामा पनि मस्तिष्कसँग प्रत्यक्ष संवाद गरेर दृश्य संकेत दिन सक्छ।
यो प्रविधिमा हजारौँ माइक्रो–इलेक्ट्रोडहरू भएको एक चिप मस्तिष्कको ‘भिजुअल कोर्टेक्स’ मा प्रत्यारोपण गरिन्छ। त्यसपछि एउटा क्यामेरा मार्फत प्राप्त दृश्य सूचनालाई चिपले ‘न्यूरल संकेत’ मा अनुवाद गरेर दिमागमा पठाउँछ, जसले प्रयोगकर्तालाई हेरेको महसुस गराउँछ।
मस्कका अनुसार, प्रारम्भमा दृश्य कम रिजोल्युसन मा देखिनेछ—उदाहरणका लागि, “निन्टेन्डो गेमजस्तो ग्राफिक्स”—तर समयसँगै प्रयोगकर्ताको मस्तिष्कले त्यसलाई बुझ्ने र अनुकूल हुने प्रक्रिया विकास गर्छ।
पहिलो मानव परीक्षण २०२५ मा
इलन मस्कले घोषणा गरेका छन् कि २०२५ को अन्त्यतिर पहिलो मानव परीक्षण सुरु गरिनेछ। यदि सफल भयो भने, यो प्रविधिले दृष्टिविहीनहरूको जीवनमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ।
वैज्ञानिकहरूले भने अझै सतर्कता अपनाउन आग्रह
यद्यपि प्रविधि उत्साहजनक देखिए पनि, केही विशेषज्ञहरूले भने अझै धेरै वैज्ञानिक चुनौती बाँकी रहेको चेतावनी दिएका छन्।
वाशिङ्टन विश्वविद्यालयकी मनोविज्ञान प्राध्यापक आयोन फाइनले भनिन्, “मस्तिष्कमा दृश्य छवि बनाउने प्रक्रिया अत्यन्त जटिल छ। वैज्ञानिकहरूले अझै ‘सही न्यूरल कोड’ पहिचान गरिसकेका छैनन्।”
न्युरालिंकका अन्य सफल प्रयास
न्युरालिंकले यसअघि पनि ब्रेन–कम्प्युटर इन्टरफेस ‘टेलेप्याथी’ मा सफलता हासिल गरिसकेको छ। काँधभन्दा तल पक्षघात भएका नोल्यान्ड अर्बाग नामक प्रयोगकर्ताले चिपको सहायताले कम्प्युटर चलाउने, गेम खेल्ने र इन्टरनेट ब्राउज गर्ने कार्य गर्न सफल भएका थिए।
यस्तै, पार्किन्सन रोगका बिरामीका लागि न्युरालिंकले विकास गरेको डिप ब्रेन स्टिमुलेसन (DBS) उपकरणले सकारात्मक परिणाम दिएको थियो।
Super Admin
>