ताजा खबर
काठमाडौं — प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल पुगेका छन्।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब संयुक्त राष्ट्रसंघसम्म पुर्याउने उद्देश्यले इजरायल सरकारले निमन्त्रणा गरेपछि उनीहरू सोमबार इजरायल प्रस्थान गरेका थिए।
तेल अविभस्थित बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हानन गोदार लगायतले उनीहरूलाई स्वागत गरे।
पत्रकारहरूसँग कुरा गर्दै आमा पद्माले भक्कानिँदै भनिन्, “म मेरो छोरो विपिनलाई लिन आएकी हुँ। उहाँलाई मुक्त गराएर घर पठाइदिनुहोस्।” त्यस्तै, बहिनी पुष्पाले आँसु झार्दै दाजुलाई विनासर्त छोड्न आग्रह गर्दै भनिन्, “हामी टाढाको देश नेपालबाट उहाँलाई लिन आएका हौं।”
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी कृषि विषयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि इजरायल गएका थिए। २०२३ अक्टोबर ७ मा हमासले दक्षिण इजरायलको किबुजमा गरेको आक्रमणपछि उनी सम्पर्कविहीन छन्। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित २५१ जनालाई बन्धक बनाइएको थियो। युद्धविरामको क्रममा कतिपयलाई मुक्त गरिए पनि विपिन अझै रिहा भएका छैनन्।
इजरायली विदेश मन्त्रालयका अनुसार, विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघको कार्यालयमा उपस्थित गराई उनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाइनेछ। साथै, उनीहरूलाई प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख र हमासविरुद्धको कारबाहीमा खटिएका कमान्डरहरूसँग भेट गराउने र घटना भएको किबुज स्थल देखाउने तयारी पनि छ।
Super Admin
>