ताजा खबर
रौतहट — दुर्गा भगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसादमाथि दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला प्रशासन कार्यालयले छानबिन थालेको छ।
करिब दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीपछि अख्तियारले नागरिकताको विषय आफ्नो अधिकारक्षेत्रमा नपर्ने भन्दै साउन ७ गते फाइल सम्बन्धित जिल्लामा पठाएको थियो।
रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीका अनुसार भारतको ‘पप्पु यादव’ नाममा जारी नागरिकतामा वडाध्यक्ष प्रसादको फोटो टाँसिएको छ। उक्त फोटो भएको भारतीय मतदाता परिचयपत्र पनि भेटिएको छ। तर नेपाल र भारतका नागरिकतामा नाम, थर र बुबा–आमाको विवरण फरक छन्।
प्रशासनले प्रसादलाई बोलाएर सोधपुछ गरिसकेको छ। उनले दोहोरो नागरिकता नलिएको दाबी गरेका छन्। भारतस्थित नेपाली दूतावाससँग पनि यसबारेमा जानकारी मागिएको छ, तर हालसम्म कुनै जवाफ आएको छैन।
नेपाल नागरिकता ऐन, २०६३ अनुसार झुटो विवरणमा नागरिकता लिएको पुष्टि भएमा प्रहरीमार्फत थप अनुसन्धान र कानुनी कारबाही हुने व्यवस्था छ। यसअनुसार प्रशासनले प्रहरीलाई पत्राचार गरेको र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको जनाएको छ।
रामानन्द प्रसाद २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष निर्वाचित भएका थिए।
Super Admin
>