ताजा खबर
चीनको चेरी अटोमोबाइल्सले निर्माण गरेको जेइको J5 अहिले नेपाली बजारमा आएको छ । भृकुटीमण्डपमा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पोमा यसलाई शारदा ग्रुपको SPG अटोमोबाइल्सले सार्वजनिक गरेको हो । यसको डिजाइन र भित्री सजावटका कारण धेरैले यसलाई ‘मिनी रेन्ज रोभर’ भनेर तुलना गर्छन् ।
गाडीको उचाइ १.६५ मिटर, चौडाइ १.८६ मिटर र लम्बाइ ४.३९ मिटर छ । अगाडिको र पछाडिको पांग्राबीचको दूरी २.६२ मिटर भएकाले भित्र खुट्टा राख्ने ठाउँ पर्याप्त छ र उच्च गतिमा पनि सन्तुलन राम्रो रहन्छ । ७.३ इन्चको ग्राउन्ड क्लियरेन्सले कच्ची बाटोमा पनि सहज बनाउँछ ।
यसमा १५५ किलोवाटको मोटर प्रयोग भएको छ, जसले पहाडी बाटोमा वा लामो दूरीमा यात्रा गर्दा पर्याप्त शक्ति दिन्छ । ५८.९ किलोवाट–घन्टाको ब्याट्री पुरा चार्ज हुँदा करिब ४६१ किलोमिटर यात्रा गर्न सकिन्छ । घरको चार्जिङमा करिब पाँचदेखि छ घण्टा लाग्छ भने डिसी फास्ट चार्जिङमा एक घण्टा जति लाग्छ ।
सुरक्षाका लागि लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडप्टिभ क्रुज कन्ट्रोल र ब्लाइन्ड स्पट डिटेक्सनजस्ता प्रणाली राखिएका छन् । वरिपरिको दृश्य देखाउन ३६० डिग्री क्यामेरा प्रणाली छ, जसमा पाँचवटा क्यामेरा प्रयोग गरिएको छ । सेल्फ पार्किङ सुविधा पनि उपलब्ध छ ।
भित्रको सजावटमा कालो वा खैरो रंगको विकल्प छ । ४८० लिटरको सामान राख्ने ठाउँ छ, जसको ढोका स्वचालित रूपमा खोल्न र बन्द गर्न मिल्छ । १.४५ वर्गमिटरको प्यानोरामिक सनरुफ, १३.२ इन्चको टचस्क्रिन, मोबाइल ब्लुटुथ कनेक्टिभिटी र वायरलेस चार्जिङको सुविधा छ । यो मोडल खैरो, कालो, हरियो, सेतो र चाँदी रंगमा उपलब्ध छ ।
यसको मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिएको छ, र एक्स्पोमा बुकिङ गर्दा ५६ लाख ९९ हजारमा उपलब्ध गराइएको थियो ।
Super Admin
>