ताजा खबर
नेपालका ५ जना नागरिकले आफूलाई प्रलोभनमा पारेर भारत लगेर मिर्गौला निकालेको आरोपसहित मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन्। पीडितमध्ये सिन्धुलीका १, काभ्रेका २ र नुवाकोटका २ जना छन्।
साउन २१ गतेको उजुरीपछि प्रहरीले काभ्रे पाँचखालका कुमार उर्फ राजकुमार परियार, नुवाकोटका समिर नेपाली र राकेश नेपालीलाई पक्राउ गरेको हो। अर्का एक व्यक्ति पनि नियन्त्रणमा छन् तर उनको नाम किटानी उजुरी नभएकाले सार्वजनिक गरिएको छैन।
प्रारम्भिक अनुसन्धानअनुसार, गिरोहले ४–५ वर्षदेखि आर्थिक रूपमा कमजोर, बेरोजगार, लागुपदार्थ वा मदिरा सेवन गर्ने नेपालीलाई रोजगारीको लोभ देखाएर भारत पुर्याई विभिन्न अस्पतालमार्फत मिर्गौला निकाल्दै आएको छ।
गिरोहको संरचना संगठित छ—एक समूहले नेपालमै टार्गेट फिक्स गर्ने, अर्को समूहले नाकाबाट भारत प्रवेश गराउने, अनि तेस्रो समूहले होटलमा राखेर अस्पतालसँग मिलेर मिर्गौला निकासीको व्यवस्था गर्ने गरेको खुलेको छ।
पक्राउ परेकाले प्रतिव्यक्ति १०–१२ जनालाई भारत पुर्याएको र यस वर्ष मात्र १० भन्दा बढीलाई लगेको स्वीकार गरेका छन्। विगतमा पनि यस्तै उजुरी दर्ता भइसकेको र भारतमा रहेका गिरोहका सदस्यलाई खोजी गर्न सम्बन्धित निकायसँग सहयोग मागिएको प्रहरीले जनाएको छ।
यसलाई संगठित अन्तरदेशीय अपराध का रूपमा दर्ता गरी थप अनुसन्धान जारी छ।
Super Admin
>