ताजा खबर
म्याग्दी जिल्लाको ग्रामीण भेगमा भेडाको ऊनबाट बनाइने परम्परागत सामग्रीको प्रयोग घट्दै जाँदा मौलिक सीप र संस्कृति संकटमा पर्दै गएको छ। मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेल सम्झिन्छिन्, दुई दशकअघिसम्म भेडाको ऊनबाट बुनेको काम्लो र हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो। अहिले भने त्यस्ता सामग्री बनाउने काम हराउँदै गएको छ।
‘पहिले सिरकको साटो हरदुब्लो ओढिन्थ्यो, काम्लो बिछ्याइन्थ्यो,’ उनले भनिन्, ‘तर अहिले बजारमा सजिलै सिरक, डसना, गलैँचा पाइने भएपछि हाम्रो मौलिक वस्तु हराउँदै गएको छ।’
ऊनको बजार अभाव
बजारमा माग घटेसँगै भेडापालक कृषकहरूले ऊन जंगलमै फाल्न थालेका छन्। अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका कृषक कमल पाइजाका अनुसार असार र कात्तिकमा काटिएको ऊन प्रयोग नहुँदा जंगलमै फाल्नुपर्ने अवस्था आएको हो।
‘ऊन निकाल्न औजार छैन, कैँचीले काटिन्छ,’ उनले भने, ‘ऊनबाट कपडा बनाउने सीप भएका मानिस घटेपछि त्यसको उपयोग पनि घट्यो।’
सांस्कृतिक संकट र हस्तकला लोप
छन्त्याल समुदायजस्ता अल्पसंख्यक जनजातिहरूले बनाउने मौलिक पोसाक समेत ऊनमै आधारित छन्। रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका वडासदस्य टेकजित छन्त्यालका अनुसार गाउँमा अहिले पनि मौलिकता जोगाउन ऊनका पोसाक लगाउने परम्परा कायम छ। तर, ती सीप अब लोप हुने अवस्थामा पुगेका छन्।
भेडा र बाख्राको संख्या घट्दै
पछिल्लो तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८० मा म्याग्दीमा १८ हजार ५६७ वटा भेडा थिए। तर, २०८०/८१ मा त्यो संख्या घटेर १७ हजार ५६५ मा झरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिए।
बाख्राको संख्या पनि घट्दै गएको छ। यस्ता पशुपालन घट्दै जानुले ऊन उत्पादनमा समेत गिरावट ल्याएको विज्ञहरूले बताएका छन्।
ज्ञान हस्तान्तरण प्रयास
सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीका अनुसार मौलिक सीप जोगाउन समुदायस्तरमा अन्तरपुस्ता ज्ञान हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। उद्देश्य भनेको पुराना सीपहरू नयाँ पुस्तामा बाँड्नु र ऊनको सदुपयोग गरेर पर्यावरणमैत्री र मौलिक सामग्री उत्पादनमा पुनः उत्साह दिनु हो।
Super Admin
>