ताजा खबर
काठमाडौं । देशभर मनसुन सक्रिय बनेसँगै आगामी घण्टामा वर्षाको प्रभाव देखिने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ। विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका तराई भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ भने मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई भागमा हुरीबताससहितको वर्षा हुने संभावना रहेको महाशाखाले चेतावनी दिएको छ।
आज राति पनि मधेस, कोशी प्रदेश तथा देशका अधिकांश पहाडी भूभागमा साधारण बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली हुनेछ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
मौसमविद्हरूले लगातारको वर्षाले पहाडी क्षेत्रमा पहिरो र बाढीको जोखिम बढाउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्। तराई भूभागमा हुरीबतासका कारण दैनिक जीवन र यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।
Super Admin
>