ताजा खबर
रौतहटको गौर शनिबार राति फेरि एउटा भयावह घटनाले तर्सियो। गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको सुटकेसभित्र करिब ३० वर्षीया एक महिलाको शव भेटिएपछि स्थानीयवासी आतंकित बनेका छन्।
स्थानीयले डोरीले बाँधिएको सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीको नेतृत्वमा गएको टोलीले बिहान सुटकेस खोलेर हेर्दा महिलाको शव कोचिएको अवस्थामा बरामद भएको हो। मृतकको पहिचान अहिलेसम्म खुलेको छैन। शवको मुचुल्का उठाई प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले वरिपरिका सीसीटीभी फुटेज जाँच थालेको छ। डिएसपी कार्कीका अनुसार अनुसन्धानलाई तीव्र बनाइएको छ र अपराधमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी नियन्त्रणमा ल्याउन सकिने विश्वास लिइएको छ।
यो घटनाले गौर क्षेत्रमा अझ ठूलो त्रास थपेको छ। किनकि यही साताभर रौतहटमा लगातार तीनवटा शव फेला परिसकेका छन्। केही दिनअघि नेपाल लजभित्र सप्तरीका उपेन्द्र भगत मृत भेटिएका थिए भने गौर–५ मा सहाबुदिन मिया छुरा प्रहारबाट मारिएका थिए। त्यसमाथि शनिबार अज्ञात महिलाको शव सुटकेसभित्र भेटिनुले घटनाक्रम थप रहस्यमय बनेको छ।
लगातारका घटनाले जिल्लावासी भयभीत भएका छन्। सुरक्षाको सवालमा गम्भीर प्रश्न उठिरहेको बेला प्रहरीले यी सबै घटनाबीच सम्बन्ध छ वा फरक–फरक घटना हुन् भन्नेबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
Super Admin
>