ताजा खबर
काठमाडौं – ठमेल क्षेत्रमा गुन्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरी वृत्त सोह्रखुट्टेले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चार जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता गरेको हो।
मुद्दा दर्ता हुनेहरूमा नुवाकोट घर भएका सानुभाइ भनिने युवराज गुरुङ, दिलकुमार तुम्बापो, रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ रहेका छन्। उनीहरूविरुद्ध अभद्र व्यवहार (गुडागर्दी) को कसुरमा मुद्दा दर्ता गरिएको छ।
न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु भइसकेको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ र त्यसपछि साधारण तारेख वा धरौटीमा रिहा गर्ने, वा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश आउने छ।
घटनामा उल्लेख छ कि १४ साउनमा ठमेलको नगरकोट दोहोरी साँझमा उनीहरूबीच झगडा भएको थियो। सानुभाइ र राजेन्द्र गुरुङ समूहबीच पुरानो रिस–इबीका कारण हानाहान भएको थियो। प्रहरीले जनाएको अनुसार राजेन्द्रले चक्कु समाउँदै आक्रमण गर्ने प्रयास पनि गरेका थिए। घटना स्थलमा रहेका बाउन्सरहरूले उनीहरूलाई बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए।
यो पहिलो घटना होइन। १५ असार २०८० मा पनि क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण गरेको थियो। त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए। अहिले फेरि दुई समूहबीच झगडा भइसकेको प्रहरीले पुष्टि गरेको छ।
Super Admin
>