ताजा खबर
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका रूपमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले बुधबार अर्याललाई उपकुलपति पदमा नियुक्त गरेका हुन्।
प्रा.डा. अर्याल त्रिविकै जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्। उनले विभाग प्रमुखका रूपमा लामो समय सेवा दिँदै त्रिविको शैक्षिक, अनुसन्धान र व्यवस्थापकीय क्षेत्रमा अनुभव बटुलेका छन्।
नयाँ उपकुलपति चयनका लागि सहकुलपति तथा शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठन गरिएको त्रिवि उपकुलपति सिफारिस समितिले असार २३ गते तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस सूचीमा त्रिविका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, विज्ञान संकायका पूर्व डीन प्रा.डा. विनिल अर्याल र प्रा.डा. दीपक अर्यालको नाम परेको थियो।
पूर्व उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले पदबाट राजीनामा दिएपछि गत चैत २८ गते प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकृति दिएका थिए। त्यसयता उपकुलपतिका रूपमा प्रा.डा. केसीले निमित्त जिम्मेवारी सम्हाल्दै आएका थिए।
यसपटक त्रिवि उपकुलपति पदका लागि १२ जनाले आवेदन दिएका थिए। तीमध्येबाट अन्तिम तीन जनाको नाम समितिले छनोट गरेको हो।
प्रा.डा. अर्यालको नियुक्तिसँगै त्रिविमा नेतृत्व परिवर्तन भएको छ। अबको कार्यकालमा उनले त्रिविको शैक्षिक गुणस्तर, अनुसन्धान विस्तार, प्रशासनिक सुधार र आन्तरिक सुधारको दिशामा कस्तो भूमिका खेल्नेछन् भन्नेबारे शैक्षिक वृत्तमा चासो बढेको छ।
Popular Tags:
Super Admin
>