ताजा खबर
काठमाडौं। साउन महिना सुरु भएसँगै पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ।
भगवान् शिवको प्रिय महिना मानिने साउनमा पूजा, आराधना र दर्शनका लागि विशेष महत्त्व दिइन्छ। आज साउनको पहिलो दिन परेकाले विशेष रूपमा पशुपतिनाथ मन्दिर परिसरमा लाखौं भक्तजन उपस्थित भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए।
उनका अनुसार बिहान ४ बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खोलिएको थियो। सोही समयदेखि नै दर्शनार्थीहरूको लाम लाग्न थालेको र भीड दिनभर जारी रहने अनुमान गरिएको छ।
आजदेखि पशुपति क्षेत्रमा चारवटा ठूला कार्यक्रम पनि सुरु भएका छन्। तीमध्ये कलश यात्रा विशेष आकर्षण बनेको छ। साथै, नियमित पूजा, आरती, अभिषेकलगायतका धार्मिक गतिविधिमा भक्तजनको सहभागिता उल्लेखनीय रहेको कोषले जनाएको छ।
पशुपतिमा विशेष गरी साउन महिनाका सोमबार र शनिबार अत्यधिक भीड हुने गर्दछ। त्यसलाई ध्यानमा राख्दै सुरक्षालाई कडा बनाइएको छ। सोमबार र शनिबारका दिनका लागि विशेष स्वयंसेवक टोली खटाउने तयारी गरिएको कोषले जनाएको छ।
पशुपतिनाथसँगै उपत्यकाका अन्य प्रमुख शिवालयहरू—गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित मक्खन महादेव (सानो पशुपतिनाथ) लगायतका मन्दिरहरूमा पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
चान्द्रमास अनुसार असार २७ गते शुक्रबारदेखि नै साउन सुरु भइसकेको छ। यस वर्ष साउन महिनामा चारवटा सोमबार र पाँचवटा शनिबार परेका छन्, जसका कारण पनि भक्तजनको उपस्थिति विशेष रूपमा बढ्ने अनुमान गरिएको छ।
Super Admin
>