ताजा खबर
काठमाडौं – नेकपा एमाले सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्स विमान दुर्घटनाको छानबिन निष्पक्ष नदेखिएको भन्दै न्यायिक छानबिनको माग गरेका छन्।
साउन ९ गते काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको नाइनएन–एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटनामा परेको थियो। उक्त घटनापछि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो। आयोगमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा. सुदीप भट्टराई, सञ्जय अधिकारी र मुकेश डङ्गोल सदस्य रहेका थिए।
तर आयोगले बुझाएको प्रतिवेदन विवादित रहेको भन्दै सांसद महासेठले सम्बन्धित विमान कम्पनीलाई बचाउन सकभर प्रयास गरिएको देखिएको टिप्पणी गरे। उनले भने, “यो प्रतिवेदन निष्पक्ष देखिँदैन। आयोगले कम्पनीलाई जोगाउनेतर्फ बढी जोड दिएको छ।”
उनका अनुसार अहिलेसम्म नेपालमा भएका कुनै पनि हवाई दुर्घटना फौजदारी मुद्दामा प्रवेश गरेका छैनन्। तर यस पटक भने सौर्य एयरलाइन्स दुर्घटनालाई उदाहरण बनाउँदै सरकारले आवश्यक कारबाही अघि बढाउनुपर्ने उनले माग गरे।
महासेठले समितिबाट सरकारलाई निर्देशन दिनुपर्ने आवश्यकता औंल्याउँदै भने, “यदि यसलाई फौजदारी मुद्दासम्म पुर्याइयो भने भविष्यमा अन्य विमान कम्पनीहरू पनि सचेत हुनेछन्। सुरक्षा बेवास्ता गर्दा फौजदारी अभियोग लाग्नसक्छ भन्ने डरले कम्पनीहरू जिम्मेवार बन्छन्।”
यसरी संसद्मा उठेको प्रश्नले सौर्य एयरलाइन्स दुर्घटनाको छानबिन केवल प्रतिवेदनमा सीमित नराखी, न्यायिक प्रकृयाबाट अघि बढाउनुपर्ने माग बलियो बनेको छ।
Super Admin
>