ताजा खबर
६ असोज, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट २०२५ को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ। नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न फाइनलमा नाइट राइडर्सले गुएना अमेजन वारियर्सलाई ३ विकेटले हराउँदै पाँचौंपटक च्याम्पियन बन्न सफल भएको हो।
वारियर्सले दिएको १३१ रनको लक्ष्य नाइट राइडर्सले १८ औं ओभरमै ७ विकेट गुमाएर पूरा गर्यो। एलेक्स हेल्सले सर्वाधिक २६ रन योगदान दिए भने कोलिन मनरोले २३, सुनिल नराइनले २२ र कायरन पोलार्डले २१ रन जोडे।
वारियर्सतर्फ कप्तान इमरान ताहिरले ३ विकेट लिए। ड्वेन प्रेटोरियस र शमार जोसेफले समान २–२ विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो। इफ्तिखार अहमदले ३०, बेन मेकडरमोटले २८ र प्रेटोरियसले २५ रन बनाए। नाइट राइडर्सका सौरभ नेत्रवल्करले ३ विकेट लिए भने अकिल होसेनले २ तथा आन्द्रे रसेल र उसमान तारिकले १–१ विकेट झारे।
लिग चरणमा वारियर्स दोस्रो र नाइट राइडर्स तेस्रो स्थानमा रहेर प्लेअफमा प्रवेश गरेका थिए। यसअघि नाइट राइडर्सले सन् २०१५, २०१७, २०१८ र २०२० मा पनि उपाधि जितेको थियो।
Super Admin
>