ताजा खबर
रुपन्देही। रुपन्देही जिल्ला प्रशासन कार्यालयले दर्ता प्रक्रिया पूरा नगरी लामो समयदेखि सञ्चालनमा रहेका बुटवलका आइभिएफ (प्रजनन उपचार विधि) सेन्टरहरूलाई बन्द गरेको छ। अनुगमन टोलीले आइतबार बुटवलमा तीन वटा आइभिएफ सेन्टरलाई एक/एक लाख रुपैयाँ जरिवाना गरेको र एउटा सेन्टरमा ताला लगाएको छ।
संघीय स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने कानुनी प्रावधान भए पनि यी सेन्टरहरू दर्ता बिना सञ्चालन भइरहेकाले जिल्ला अनुगमन समितिले कारवाही गरेको हो। अनुगमनको क्रममा वरदान आइभिएफ सेन्टर, वात्सल्य बुटवल क्लिनिक र प्रनाभी आइभिएफ सेन्टर दर्ता बिना सञ्चालन भएको पाइएपछि जरिवाना र ताला लगाइएको छ। प्रनाभी आइभिएफ सेन्टरमा अनुमति नलिँदासम्म ताला लगाउने निर्णय गरिएको छ।
वरदान आइभिएफ सेन्टरले दुई वर्षअघि दर्ताका लागि आवेदन दिएको भए पनि मन्त्रालयको ढिलाइका कारण प्रक्रिया नसकिएको र २१ जोडीले उपचार गरिरहेको अवस्थामा तत्काल ताला लगाउँदा सेवाग्राहीलाई असर पुग्ने भएकाले ४५ दिनभित्र अनुमति लिए नभए बन्द गर्ने चेतावनी दिइएको छ।
वात्सल्य आइभिएफ सेन्टरलाई स्थानीय तहबाट सामान्य परामर्श दर्ता मात्र भएको र संघीय मन्त्रालयबाट अनुमति नलिँदासम्म आइभिएफ सेवा नगर्न भनिएको छ। अनुमति नलिँदा थप कारबाही हुने चेतावनी समेत दिइएको छ।
यसैगरी तिलोत्तमा नगरपालिकाको जानकी नगरस्थित विपासना फर्टिलिटी सेन्टरले अनुमति प्राप्त गरेको छ।
प्राकृतिक रूपमा सन्तान नपाउने दम्पतीलाई कृत्रिम प्रक्रियाबाट सन्तान दिलाउने आइभिएफ सेन्टरहरूले ठूलो सहयोग पुर्याउँदै आएका भए पनि संवेदनशील सेवा भएकाले दर्ता प्रक्रिया कडा पालना गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
अनुगमन क्रममा तिलोत्तमा ड्राइभर टोलस्थित श्रीकृष्ण आई केयर सेन्टर एन्ड अप्टिकल्समा पनि दर्ता कागजात नपाइएपछि ताला लगाइएको छ।
जिल्ला अनुगमन समितिले पहिले माछा मासु, खाद्य पदार्थ लगायतका उद्योग तथा पसलमा अनुगमन गर्दै आएको थियो भने अहिले अस्पताल, क्लिनिक, फार्मेसी, ल्याब र आइभिएफ सेन्टरमा पनि अनुगमन बढाएको जनाएको छ।
Super Admin
>