ताजा खबर
दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको ग्याङ्स्टर एक्सन ड्रामा कुलीले विश्व बक्सअफिसमा धमाकेदार सुरुवात गरेको छ। यो फिल्मले ऋतिक रोशन र जुनियर एनटीआरको वार २ सँग प्रतिस्पर्धा गरिरहेको अवस्थामा पहिलो दिनमै अग्रस्थान हासिल गरेको छ।
तमिल भाषामा बनेको प्यान–इन्डिया फिल्मले रजनीकान्तको ५० वर्षे करियरको सबैभन्दा ठूलो ओपनिङ दिएको छ। थलापति विजयको लियो लाई पछि पार्दै, तमिल भाषामा पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने रेकर्ड पनि बनाएको छ। फिल्म १५ अगस्ट, भारतीय स्वतन्त्रता दिवसको दिनमा भारतभर प्रक्षेपण गरिएको थियो।
स्याकनिल्कको रिपोर्ट अनुसार कुली ले भारतमा पहिलो दिन ६५ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ। यसमध्ये तमिल संस्करणबाट सबैभन्दा बढी ४५ करोड, तेलुगुबाट १५ करोड, हिन्दीबाट ४.५ करोड, र कन्नडबाट ५० लाख कमाई भएको छ।
विदेशी बक्सअफिसमा पनि ब्लकबस्टर सुरुवात गरेको यस फिल्मले प्रारम्भिक अनुमान अनुसार भारत र विदेशसहित विश्वभर १४० करोड भारुभन्दा बढी कमाएको छ, जुन तमिल सिनेमाको लागि नयाँ रेकर्ड हो।
तुलनात्मक रूपमा, ऋतिक रोशन र जुनियर एनटीआरको वार २ले पहिलो दिन हिन्दी, तेलुगु र तमिलमा संयुक्त रूपमा ५२.५० करोड भारु कमाएको छ, जसमा हिन्दीमा २९ करोड, तेलुगुमा २३.२५ करोड र तमिलमा २५ लाख कमाइ भएको थियो।
लोकेश कनागराज निर्देशित कुली’को बजेट ३७५–४०० करोड भारु रहेको छ। फिल्ममा रजनीकान्त, नागार्जुन र श्रुति हासन मुख्य भूमिकामा छन्।
Super Admin
>