ताजा खबर
रूसले परमाणु क्षमतायुक्त टोरपीडो ‘पोसाइडन’ को सफल परीक्षण गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार यो टोरपीडोले समुद्रमा रेडियोधर्मी लहरहरू सिर्जना गरी तटीय सहरहरूलाई क्षणभरमै ध्वस्त पार्न सक्छ।
पोसाइडन पूर्ण रूपमा स्वचालित पनडुब्बी टोरपीडो हो, जसमा न्यूक्लियर रिएक्टर जडान गरिएको छ। यसले बाहिरबाट इन्धन नभरिकनै असीमित दूरी पार गर्न सक्छ। पुटिनले यसको शक्ति रूसको ‘सरमत’ मिसाइलभन्दा पनि बढी रहेको दाबी गरेका छन्।
ग्रीक समुद्रदेव ‘पोसाइडन’को नाममा राखिएको यो हतियार सन् २०१८ मा पहिलोपटक पुटिनले पुष्टि गरेका थिए। हालको परीक्षणमा टोरपीडोभित्रको सानो न्यूक्लियर यन्त्र सफलतापूर्वक सक्रिय गरिएको बताइएको छ। रूसी स्रोतअनुसार यो एक किलोमिटरभन्दा बढी गहिराइमा ७० नटिकल माइल प्रतिघण्टा गतिमा यात्रा गर्न सक्छ र यसलाई पत्ता लगाउन कठिन हुन्छ।
रूसले यसलाई अमेरिका र नेटोको विस्तारको जवाफका रूपमा प्रस्तुत गरेको छ। विश्लेषकहरूका अनुसार पोसाइडन केवल भौतिक विनाशका लागि नभई मनोवैज्ञानिक दबाब सिर्जना गर्न पनि लक्षित हतियार हो।
यो परीक्षण एक हप्ताभित्रको दोस्रो आणविक सफलता हो। यसअघि रूसले न्यूक्लियर-चालित क्रुज मिसाइल ‘बुरेभेस्टनिक 9M739’ को सफल परीक्षण गरेको थियो, जसले असीमित दायरा पार गर्न सक्ने दाबी गरिएको छ।
Super Admin
>