ताजा खबर
३ असोज, काठमाडौं । रूसको पूर्वी कामचाट्का प्रायद्वीपमा शुक्रबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार यसको केन्द्रबिन्दु पेत्रोपाभ्लोभ्स्क–काम्चाट्कादेखि १२८ किलोमिटर पूर्व र समुद्री सतहभन्दा १० किलोमिटर तल रहेको थियो।
भूकम्पपछि ४० मिनेटभित्रै ५.१ देखि ५.८ म्याग्निच्युडका पाँचवटा पराकम्पन अनुभव गरिएको छ।
कामचाट्का क्षेत्रका गभर्नर भ्लादिमिर सोलोडोभले सुनामी चेतावनी जारी गरिएको र स्थानीयलाई सतर्क रहन आग्रह गरिएको जानकारी दिएका छन्। तर हालसम्म क्षतिको खबर आएको छैन।
अमेरिकी राष्ट्रिय मौसम सेवाले करिब एक हजार किलोमिटर भित्रका समुद्री किनारमा सुनामी आउन सक्ने चेतावनी जारी गरे पनि प्रारम्भिक मूल्यांकनपछि हवाईका अधिकारीहरूले ‘ध्वंसात्मक सुनामीको खतरा नरहेको’ घोषणा गरेका छन्। जापानको मौसम विज्ञान एजेन्सीले पनि ‘समुद्री सतहमा हल्का परिवर्तन’ मात्र भएको जनाएको छ।
यसअघि साउन दोस्रो सातामा कामचाट्कामै ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो, जुन विश्वको छैटौं शक्तिशाली भूकम्पका रूपमा दर्ज भएको थियो। त्यसपछि क्रशेनिनिकोभ ज्वालामुखी समेत ५०० वर्षपछि पहिलोपटक विस्फोट भएको थियो।
कामचाट्का भूकम्पीय रूपमा संवेदनशील क्षेत्रमा पर्दछ। सन् १९५२ मा यहाँ ९ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले ९ मिटर अग्ला छालहरू उठाएको थियो।
Super Admin
>