ताजा खबर
काठमाडौँ — मनसुनका कारण उत्तरी नाका रसुवा–तातोपानी ठप्प हुँदा दसैं–तिहार लक्षित अर्बौं मूल्यका सामान चीनतर्फ अलपत्र परेको छ। बाढी–पहिरोले व्यापारिक नाका अवरुद्ध हुँदा उपभोक्ताले चाडपर्वको बेला अभाव र अनियन्त्रित मूल्यवृद्धिको दोहोरो मार खेप्नुपर्ने जोखिम बढेको छ।
नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव जयन्तकुमार अग्रवालका अनुसार करिब ४०० कन्टेनर सामान चीनतर्फ रोकिन पुगेका छन्। ती कन्टेनरमा लत्ताकपडा, जुत्ता, स्याउ, ओखर, लसुन, ड्राइ फ्रुट्स र इलेक्ट्रोनिक ग्याजेटजस्ता दसैं–तिहारका प्रमुख सामग्री छन्। अग्रवालले बताए अनुसार, चार–पाँच महिनाअघि नै अर्डर गरिएका यी सामान एक महिनाभन्दा बढी एउटै ठाउँमा थन्किएका छन्, जसले व्यवसायीलाई ठूलो आर्थिक क्षति पुर्याएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले भने, “अबको १०–१५ दिनभित्र सामान नेपाल भित्रिन नसके चाडपर्व महँगिने निश्चित छ। बजारमा सामान अभाव हुँदा कालोबजारी र मूल्यवृद्धि हुने निश्चित छ।” उनी भन्छन्, रसुवागढी र तातोपानी नाकामा पहिरो र बाढीले ठूलो क्षति पुर्याएपछि केवल केही अत्यावश्यक वस्तु मात्र जोखिमपूर्वक ल्याउन सम्भव भएको छ।
तातोपानी नाकामा व्यवसायीहरूले पहिरो छिचोल्न भरियाको सहारा लिएर सामान ल्याउने प्रयास गरेका छन्। यसरी ढुवानी गर्दा लागत दोब्बर बढेर उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था आएको छ। रसुवा नाका पूर्णरूपमा ठप्प हुँदा अधिकांश कन्टेनर नेपाल भित्रिन सकेको छैन।
व्यवसायीले दीर्घकालीन समाधानका लागि वैकल्पिक नाका खोल्न सरकारसँग माग गरेका छन्। नेपाल चेम्बर अफ कमर्सले पनि वर्षा र बाढीका कारण अवरुद्ध नाका यथाशीघ्र सञ्चालन गरी व्यापार, उद्योग र आयात–निर्यात प्रणाली सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सधैं दोहोरिने यो समस्या समाधान नगरे दशैं–तिहारमा महँगी र अभावको चुनौती नजिकै रहने जोखिम छ। व्यवसायी र व्यापारी संघहरूले वैकल्पिक नाका र पूर्वाधार सुधार तत्काल आवश्यक भएको बताउँदै सरकारसँग पहल गर्न आग्रह गरेका छन्।
Super Admin
>