ताजा खबर
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक र आविष्कारक डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन्। मन्त्रीपरिषद् विस्तारको तयारीमा रहेकी कार्कीले पछिल्ला दिनमा विभिन्न व्यक्तिहरूसँग छलफल गर्दै आएकी छिन्। त्यस क्रममा उनले पुनसँगै केही युवा पत्रकारहरूसँग पनि भेटवार्ता गरेकी थिइन्।
स्रोतका अनुसार कार्कीले पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्न आग्रह गरेकी हुन्। तर, पुनले तत्काल कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन्।
जेनजी युवा आन्दोलनपछि तत्कालीन ओली सरकार ढलेर बनेको अन्तरिम चुनावी मन्त्रिमण्डलमा हालसम्म अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा–सिँचाइ र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल मात्रै रहेका छन्।
वैज्ञानिक तथा सामाजिक अभियन्ताका रूपमा परिचित पुनलाई सरकारमा ल्याउनुपर्ने माग जेनजी पुस्ताबाट निरन्तर उठिरहेको छ। नेपालमा पहिलोपटक ताररहित इन्टरनेट सेवा सञ्चालन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका उनले यस उपलब्धिका लागि रोमन म्यागासेसे पुरस्कारसमेत पाएका थिए।
पुन हाल राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। विज्ञान र प्रविधिबाट विकासका सम्भावनाहरू खोज्ने उद्देश्यले उनले सन् २०१२ मा यो केन्द्र स्थापना गरेका थिए। वर्षौं बन्द रहेको कृषि औजार कारखानालाई पुन जीवित बनाउन उनले हालै आफ्नै पुस्तक बिक्रीमार्फत रकम संकलनसमेत गरेका थिए।
Super Admin
>