ताजा खबर
५ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक गएको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुनः सुरु भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन र नारायणगढ दुवैतर्फ मेसिन परिचालन गरी पहिरो हटाउने कार्य चलिरहेको छ। यद्यपि ढुंगा झर्ने क्रम अझै रोकिएको छैन। थप पहिरो नझरे र काम निरन्तर भए छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने विश्वास व्यक्त गरिएको छ।
चितवनको इच्छाकामना गाउँपालिकास्थित उक्त क्षेत्रमा शुक्रबारदेखि लगातार पहिरो खसिरहेको थियो। रातिदेखि सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका थिए। अहिले पनि सवारी साधन र मानिसहरू सडकमा थुप्रिएका छन् भने राजमार्गको दुवैतर्फ लामो लाइन लागेका छन्। जिल्ला प्रशासन कार्यालय र प्रहरीले यात्रुहरूलाई पानी र खानेकुरा उपलब्ध गराएको थियो।
सडक डिभिजन कार्यालयले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ। विकल्पमा नौबिसे–दामन–हेटौंडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट अर्थात् कालीगण्डकी करिडोर प्रयोग गर्न सकिने जनाएको छ।
दशैंको मुखमा मुख्य राजमार्ग अवरुद्ध भएपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको थियो। मन्त्री कुलमान घिसिङले राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
Super Admin
>