ताजा खबर
दक्षिण कोरियाको ऐतिहासिक सहर ग्योङजुमा सुरु भएको एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ विश्वका नेताहरूको ध्यानको केन्द्र बनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्धविराम सुनिश्चित गरेपछि सी अब जापान, क्यानडा र थाइल्यान्डका शीर्ष नेताहरूसँग भेटवार्तामा व्यस्त हुनेछन्।
रोयटर्सका अनुसार, ट्रम्प–सी सम्झौतापछि चीनले दुर्लभ खनिज निर्यातमा लगाएको थप प्रतिबन्ध स्थगन गर्नेछ, जसले आपूर्ति शृङ्खलामा राहत दिने अपेक्षा गरिएको छ। सम्मेलनको मुख्य विषय पनि यही आपूर्ति शृङ्खला सुदृढीकरण हो।
विश्वव्यापी व्यापार तनावबीच जापानकी नयाँ नेतृ सानाए टाकाइचीसँग सीको पहिलो भेट हुँदैछ। उनीहरूको राष्ट्रवादी दृष्टिकोणका कारण सम्बन्धमा नयाँ जटिलता आउने आशंका व्यक्त गरिएको छ।
यस्तै, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि सीसँग भेट्दै वर्षौंयता चिसिएको सम्बन्ध सुधार्ने प्रयास गर्नेछन्। चीन–क्यानडाबीचका व्यापार र कूटनीतिक विवादहरूले पछिल्ला वर्षहरूमा सम्बन्धमा तिक्तता ल्याएका थिए।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चर्नभिराकुलले पनि सीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय गरेका छन्। एपेक बैठकले एशिया–प्रशान्त क्षेत्रमा सहयोग र संवादको नयाँ दिशा देखाउने अपेक्षा गरिएको छ।
Super Admin
>