ताजा खबर
काठमाडौं — ‘पाइरेट्स अफ द क्यारिबियन’ फ्रान्चाइजमा नयाँ ‘क्याप्टेन ज्याक स्प्यारो’ खोजी भइरहेको चर्चा बीच, निर्माता जेरी ब्रुकहाइमरले अभिनेता जोनी डेप फेरि यो भूमिकामा फर्कन सक्ने संकेत दिएका छन्।
अमेरिकी मनोरञ्जन पत्रिका इन्टरटेनमेन्ट वीकलीसँगको कुराकानीमा ब्रुकहाइमरले भने, “यदि उनलाई यो पात्रको कथा मन पर्यो भने, मलाई लाग्छ उनले यो भूमिका निर्वाह गर्नेछन्।” डिज्नीले डेपसँग अलग भएपनि आफूले ‘सिटी अफ लाइज’ स्टारलाई फिर्ता ल्याउन चाहेको पनि उनले बताए।
डेपले सन् २००३ मा ‘द कर्स अफ द ब्ल्याक पर्ल’मा पहिलोपटक ज्याक स्प्यारोको भूमिका खेलेका थिए र २०१७ को ‘डेड मेन टेल नो टेल्स’सम्म पाँच श्रृंखलामा यो भूमिका निरन्तर निर्वाह गरे। तर २०१८ मा उनकी पूर्वपत्नी एम्बर हर्डले घरेलु हिंसाको आरोप लगाएको लेख सार्वजनिक भएपछि, डेप–डिज्नी सम्बन्धमा दरार आएको थियो।
योबीच, हेनरी क्याभिललाई नयाँ ‘ज्याक स्प्यारो’ बनाउन सकिने चर्चा चलेको थियो। तर ब्रुकहाइमरको ताजा भनाइपछि यो सम्भावना कमजोर भएको देखिन्छ।
फ्रान्चाइजको छैटौं भागबारे २०१९ देखि नै छलफल भए पनि आधिकारिक घोषणा भएको छैन। ब्रुकहाइमरका अनुसार, आफू अझै पनि क्याप्टेन ज्याक स्प्यारोको रूपमा डेपलाई पर्दामा हेर्न इच्छुक छन्।
Super Admin
>