ताजा खबर
मासु पकाउने बेलामा थोरै जाइफल मिसाउँदा स्वाद र सुगन्ध दोब्बर हुने गर्दछ। मासु मात्र नभई झोलिलो अन्य परिकारमा पनि जाइफलको प्रयोग गरिन्छ। आयुर्वेद र संस्कृतमा यसलाई ‘जाति फल’ भनिन्छ। जाति फलको कडा भागलाई सामान्य भाषामा जाइफल भनिन्छ, जसको स्वाद तीतो र पिरो हुन्छ र शरीरमा गर्मी उत्पन्न गर्छ।
जाइफल केवल मसला होइन, आयुर्वेदमा यसलाई बहुउपयोगी जडीबुटी मानिन्छ। यसको धुलो, तेल, र परफ्युम समेत बनाइन्छ।
जाइफलको इतिहास
पहिलो शताब्दीमा जाइफलको बिरुवा रोममा देखिएको थियो। छैटौं शताब्दीमा अरब व्यापारीहरूले यसलाई कोन्स्टेन्टिनोपल (अहिलेको इस्तानबुल) ल्याए। पछि ब्रिटिश इस्ट इण्डिया कम्पनीले भारतमार्फत एसियाका अन्य मुलुकहरूमा यसलाई पुर्यायो। जाइफलको मूल उत्पत्ति इण्डोनेसियामा भएको मानिन्छ।
जाइफलको बिरुवा ५ वर्षपछि फूल फुलाउँछ र १५ वर्षमा परिपक्व हुन्छ। एक रुखबाट ५० वर्षसम्म फल प्राप्त हुन्छ र करिब दुई हजारभन्दा बढी फल फल्छन्।
जाइफलमा पाइने तत्वहरू
जाइफलमा एन्टिअक्सिडेन्ट, एन्टिडायबेटिक, एन्टिहाइपरलिटी, एन्टि-इन्फ्लामेटरी, एनालजेसिक लगायतका रसायनिक तत्वहरू पाइन्छन्। साथै भिटामिन सी, बी, बी १२, सोडियम, पोटासियम, आइरन, म्यागनेसियम र अन्य खनिजहरू पनि प्रशस्त हुन्छन्।
यी तत्वहरूले शरीरमा कोलेस्टेरोल घटाउन, दुखाइ कम गर्न, सूजन निवारण गर्न र ब्लड सुगर नियन्त्रण गर्न मद्दत गर्छन्।
जाइफलका स्वास्थ्य फाइदाहरू
- यौनशक्ति वृद्धि: पुरुषको शुक्राणु उत्पादन र यौन इच्छामा सुधार ल्याउने तत्व पाइन्छ।
- ब्रेन टोनिक: थकान र तनाव कम गरी मस्तिष्कलाई सक्रिय बनाउँछ।
- दुखाइ निवारक: जोर्नी र मांसपेशी दुखाइमा राहत दिन्छ।
- अपच निवारण: पाचन समस्या, कब्जियत र पेट फुल्ने समस्यामा लाभदायक।
- सासको दुर्गन्ध हटाउने: मुखका कीटाणु नष्ट गरी दुर्गन्ध कम गर्छ।
- कलेजो र मिर्गौला सफा राख्ने: विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ।
- रुघाखोकी, दम र पिनासमा राहत: एन्टिएलर्जी गुणका कारण श्वासप्रश्वासका समस्या कम गर्छ।
प्रयोग विधि र मात्रा
जाइफललाई धुलो वा तेलको रूपमा प्रयोग गर्न सकिन्छ। मासु, तरकारी, खीर वा दूधमा मिसाएर सेवन गर्न सकिन्छ। दैनिक २५० मिलीलीटर पानी वा दूधमा १ ग्रामसम्म धुलो मिसाएर खान सकिन्छ। धेरै मात्रा सेवनले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सधैं मापनमा सीमित राख्नु आवश्यक छ।
सावधानी र साइड इफेक्ट
धेरै मात्रामा खानाले शरीरमा गर्मी, भ्रम, मुटुको अनियमितता, मुख सुक्खापन र चक्कर लाग्ने हुनसक्छ। गर्भवती महिलाले पहिलो ३ महिनामा नखानु पर्ने तथा एलर्जी समस्या भएकाहरू र रगत पातलो पार्ने औषधि सेवन गर्नेहरूले परहेज गर्नुपर्छ। साथै, डिप्रेसनका औषधि खाँदाको अवस्थामा पनि जाइफल नखानु उचित हुन्छ।
Super Admin
>