ताजा खबर
२० भदौ, काठमाडौं । बसन्तपुर दरबार परिसरमा इन्द्रजात्राको लिंगो ठड्याएपछि शुक्रबार बिहान कन्याहरूको सामूहिक पूजा गरिएको छ। बिहीबार विधिपूर्वक लिंगो ठड्याइएपछि यो विशेष पूजाको आयोजना गरिएको हो।
नेपालमा जीवित देवी कुमारीलाई राष्ट्ररक्षक मान्ने परम्परा रहेको छ। सोही परम्परा अनुसार हरेक वर्ष इन्द्रजात्रामा साना कन्याहरूलाई देवीको प्रतीकका रूपमा सम्मानसहित पूजा गरिन्छ। स्थानीयले आफ्ना छोरीहरूलाई कुमारीझैं सजाएर पूजास्थलमा लगेर पूजा गराएका थिए। पूजा सकेपछि कन्याहरूलाई दान–दक्षिणा दिने प्रचलन रहिआएको छ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार, नेवार समुदायमा कन्या पूजालाई शुभको प्रतीक मानिन्छ। विशेष गरी वेलविवाह नगरिएका वा रजस्वला नभएका कन्यालाई पूजा गर्दा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ।
आठ दिनसम्म चल्ने इन्द्रजात्रामा कन्या पूजासँगै विभिन्न सांस्कृतिक नाचगान प्रस्तुत गरिन्छ। कुमारी, गणेश र भैरवको रथयात्रा दरबार क्षेत्रका विभिन्न टोलमा परिक्रमा गराइन्छ। तल्लो टोल (कोहने), माथिल्लो टोल (ठहने) र बीचको टोल (नानिचा) मा रथ यात्रा सम्पन्न गरिन्छ। नानिचाको दिन लिङ्गो ढालेर बागमतीमा सेलाएपछि इन्द्रजात्रा औपचारिक रूपमा सम्पन्न हुन्छ।
Super Admin
>