ताजा खबर
विहिबारदेखि स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशिल श्रेष्ठ, सुशिल सिटौला र अभय बरालको फिल्म करिअरले १० वर्ष पूरा गर्दैछ। यी कलाकारले अगस्ट २१, २०१५ मा प्रदर्शन भएको फिल्म ‘होस्टेल रिटर्न्स’ बाट एकसाथ अभिनयमा डेब्यू गरेका थिए।
अभिनयको सुरुवाती दशक पार गर्दै यी कलाकार अहिले नेपाली घरेलु फिल्म उद्योगमा ब्यस्त छन्। अभिनेत्री स्वस्तिमा खड्का ले सामाजिक संजालमा आफ्नो यात्रा र दर्शकप्रतिको कृतज्ञता व्यक्त गरेकी छन्। उनले लेखेकी छन्,
“केही नसिकी, केही नपढी म सिनेमामा आएकी थिएँ। काम र अग्रजहरूको मार्गदर्शनले मलाई सिनेमाको कखरा सिकायो। म अहिले सिनेमाको वर्णमाला सिक्दै छु। यो ज्ञानले मलाई आगामी दशकमा परिपक्व बनाउँदै लैजानेछ।”
स्वस्तिमा १९ फिल्ममा शीर्ष भूमिकामा देखिइसकेकी छन्। उनका चर्चित फिल्ममा छक्कापञ्जा २ र ३, नाईं नभन्नु ल ५, बुलबुल, घामड शेरे, चपली हाइट ३, पशुपति प्रसाद २ र दिमाग खराब पर्छन्। निर्माण क्षेत्रमा उनले ‘बेहुली फ्रॉम मेघौली’ बाट डेब्यू गरेकी थिइन्।
नाजिर हुसेन ले पछिल्लो १० वर्षमा १४ फिल्ममा अभिनय गरे। उनका चर्चित फिल्ममा वीरविक्रम १ र २, अगस्त्य, केटी हराएको सूचना र आगामी ‘गुन्यू चोलो’ पर्छन्।
सुशील श्रेष्ठ ले ‘होस्टेल’ पछि ६ फिल्म खेलेका छन् र हाल एक्सन स्टारका रूपमा लोकप्रिय छन्। उनका हिट फिल्ममा आउट ल : दफा २१९, बादशाह जुट, लभ डायरिज, सायद २, कारखाना समावेश छन्।
सुशील सिटौला ले ११ फिल्ममा अभिनय गरेका छन्। उनका चर्चित फिल्ममा सुन्तलीले भगाई लग्यो, झिल्केले, ऐंचो पैंचो, मायावी, लाखे, रणवीर पर्छन्।
अभय बराल अभिनयसँगै फिल्म निर्माणमा पनि सक्रिय छन्। ‘होस्टेल रिटर्न्स’ अघि उनले अध्याय मा काम गरिसकेका थिए। उनका चर्चित फिल्ममा सेल्फी किङ, कुम्भकरण, अमेरिका ब्याज, जिग्री, आँखा पर्छन्।
यी सबै कलाकारलाई वास्तविक पहिचान भने ‘होस्टेल रिटर्न्स’ ले दिएको हो, जसले नेपाली फिल्म उद्योगमा उनीहरूको यात्रा सुरु गराएको थियो।
Super Admin
>