ताजा खबर
काठमाडौँ । हलिउडका प्रख्यात अभिनेता तथा निर्देशक रोबर्ट रेडफोर्डको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको छ। उनको पब्लिसिटी फर्म, रोजर्स एण्ड कोवान पीएमकेकी प्रमुख कार्यकारी सिन्डी बर्गरले मृत्यु पुष्टि गरेकी छन्। हालसम्म मृत्युको कारण सार्वजनिक गरिएको छैन।
रेडफोर्डको निधनमा हलिउड र उनका प्रशंसकहरू शोक व्यक्त गरेका छन्। अमेरिकी अभिनेत्री जेन फोंडाले रेडफोर्डलाई “अद्भुत मानिस र सदैव अमेरिकाको पक्षमा उभिने व्यक्ति” भनेकी छिन्। अभिनेता लियोनार्दो डिक्याप्रियोले भने, “उहाँ केवल प्रतिभाशाली अभिनेता मात्र होइन, महान निर्देशक पनि हुनुहुन्थ्यो। ‘थ्री डेज अफ द कन्डोर’ र ‘अल द प्रेसिडेन्ट्स मेन’ जस्ता फिल्मले यसको प्रमाण दिएका छन्।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई “महान अभिनेता” भनेका छन्।
रेडफोर्डका चर्चित फिल्महरूमा ‘बुच क्यासिडी एण्ड द सनडान्स किड’ (१९६९), ‘अल द प्रेसिडेन्ट्स मेन’ (१९७६), ‘थ्री डेज अफ द कन्डोर’ (१९७५) र ‘द स्टिङ’ (१९७३) समावेश छन्। उनले ४० वर्षको उमेरपछि निर्देशनमा प्रवेश गरी ‘अर्डिनरी पिपल’ (१९८०) निर्देशन गरेका थिए, जसले चार अस्कर अवार्ड जित्यो।
उनले सनडान्स फिल्म फेस्टिभलको संस्थापकको रूपमा स्वतन्त्र फिल्म निर्मातालाई प्लेटफर्म प्रदान गरेका थिए।
रेडफोर्डले १९५८ मा लोला भान वागेननसँग विवाह गरे, चार सन्तान थिए। पछि सन् २००९ मा सिबिल साग्गार्ससँग पुनः विवाह गरे।
Super Admin
>