ताजा खबर
गोरखा — नेपालभर दशैं आउन अझै एक महिना बाँकी छ तर गोरखाका केही स्थानमा भने मंगलबार नै टीका–जमरा लगाएर दशैं मनाइएको छ। सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकाका केही विद्यालय र घरपरिवारमा यसरी अघिल्लै दशैंको विधि सम्पन्न गरिएको हो।
यस अनौठो पहलको अगुवाइ ‘पर्व समय सुधार राष्ट्रिय समाज’ ले गर्दै आएको छ। समाजका अनुसार परम्परागत पात्रोमा त्रुटि रहेको र खगोलिय हिसाबले समय घट्दै जाने भएकाले दशैं वास्तविक मितिभन्दा एक महिना अगाडि पर्नुपर्ने दाबी गरिएको छ।
समाजले भदौ ८ गते घटस्थापना गर्दै जमरा राखेको थियो। भदौ १४ गते फूलपाती र १५ गते बलिदानसहित अष्टमी पूजापछि मंगलबार दशमीको टीका–जमरा लगाइएको समाज गोरखाकी अध्यक्ष तुलसा मरहट्टाले जानकारी दिइन्।
समाजले २४ घण्टाको एक दिन वास्तवमा ३.२७ सेकेन्ड अपुग हुने र यसरी निरन्तर घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने वैज्ञानिक तथ्याङ्कलाई आधार बनाएको दाबी गर्दै आएको छ। यस कारण दशैं एक महिनाअघि सर्नुपर्ने उनीहरूको तर्क छ।
नेपालका वरिष्ठ खगोलविद् प्रा.डा. जयन्त आचार्य समाजका केन्द्रीय अध्यक्ष रहेका छन्। समाजले आफ्ना शाखा र समितिहरूलाई पत्राचार गरी दशैंको टीका भदौ १७ गते र तिहारको भाइटीका असोज ७ गते मनाउन निर्देशन दिएको थियो।
तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने यस वर्षको विजया दशमी (टीका) असोज १६ गते हुने आधिकारिक मिति तोकेको छ। यसरी फरक–फरक मितिमा पर्व मनाइँदा परम्परा र समयको व्याख्या गर्ने आधारलाई लिएर व्यापक बहस सुरु भएको छ।
Super Admin
>