ताजा खबर
काठमाडौँ — गुण्डा नाइके भनेर परिचित मिलन गुरुङ, जसलाई चक्रे मिलनका नामले पनि चिनिन्छ, विरुद्ध भक्तपुर प्रहरीले अनुसन्धान गर्न लागेको छ। करिब एक वर्षअघिको एक ज्यान मार्ने उद्योगसँग सम्बन्धित घटनामा उनलाई समेत अनुसन्धानमा समेटिने भएको हो।
चक्रेसहित केही व्यक्तिलाई प्रतिवादी बनाएर प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो। उक्त घटनामा चक्रेको भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरिएको आरोप छ।
सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिहरूले मनिषलाई आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए। सो घटनामा रायमाझीको दुवै कोखमा खुकुरी प्रहार गरी घाइते बनाइएको थियो।
पहिले भने अजित खवासलाई पक्राउ गरी मुद्दा अघि बढाइयो, तर चक्रेको नाम प्रतिवादीमा नराखिएको थियो। हाल भक्तपुर प्रहरीले चक्रे मिलनविरुद्ध थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
चक्रे अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। उनी बिहीबार राति महाराजगञ्जस्थित होटल साम्बालामा भएको बर्थडे पार्टीका क्रममा पक्राउ परेका थिए। उक्त पार्टीमा चक्रेसहित ४७ जनालाई नियन्त्रणमा लिइएको थियो। ती मध्ये १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरी प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेका अनुसार काठमाडौंमा अनुसन्धान पूरा भएपछि भक्तपुर प्रहरीले पनि चक्रेविरुद्धको घटनामा कारबाही गर्नेछ।
हालसम्मको अनुसन्धानमा चक्रे प्रत्यक्ष संलग्न नभए पनि उक्त आक्रमण उनको योजनाअनुसार भएको अनुमान गरिएको छ। भक्तपुर प्रहरीले उक्त घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याउन कदम चालेको छ।
Super Admin
>