ताजा खबर
अस्ट्रेलियामा एक युवा क्रिकेट खेलाडीको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ।
१७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा अभ्यास गरिरहेको बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र घाँटीमा चोट लागेको बीबीसीले जनाएको छ।
अभ्यासका क्रममा उनले हेलमेट लगाएका थिए तर घातक चोटपछि तुरुन्तै अस्पताल पुर्याइए पनि उनको ज्यान बचाउन सकिएन। अस्पतालमा लाइफ सपोर्टमा राखिएको अवस्थामा बुधबार उनको मृत्यु भएको हो।
फेर्नट्री गली क्रिकेट क्लबले बेनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनलाई ‘प्रतिभाशाली र सबैका मनपर्ने खेलाडी’ भनेर सम्झिएको छ।
त्यस्तै, फेर्नट्री गली एन्ड डिस्ट्रिक्ट क्रिकेट एसोसिएसनका अध्यक्ष आर्नी वाल्टर्सले भने, “यो खबरले हाम्रो सम्पूर्ण क्रिकेट समुदायलाई गहिरो रूपमा हल्लाएको छ, र हामी क्लब र परिवारलाई आवश्यक सहयोग गर्नेछौं।”
यो घटना सन् २०१४ मा अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्युजको मृत्यु भएको एक दशकपछि आएको हो। ह्युज ब्याटिङका क्रममा घाँटीमा बल लाग्दा मृत्यु भएका थिए, जसपछि क्रिकेटमा सुरक्षा उपकरणहरूमा सुधार गरिएको थियो।
Super Admin
>